
काठमाडौँ, २४ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गर्नुभएको छ ।
पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिनुभयो ।
यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो ।
यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नुहुने भएको छ । विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उहाँले राष्ट्रपति कार्यालयमा पाल्नुहुने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिनुभयो ।