विएन यादव –
राजविराज, २५ असोज । सप्तरीका वाईसिएल कार्यकर्तालाई एक समूहको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ ।
सप्तरीको सदरमुकाम राजविराज–१ डुमरी शिवथानका वाईसिएल कार्यकर्ता २१ वर्षीय प्रेम यादवको हत्या गरिएको हो ।
१ दर्जन भन्दा बढी युवाको समूहले हतियार प्रहार गरी भागेपछि घाइते यादवको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । गत मंगलबार राजविराज–२ स्थित पीस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा यादवलाई घेरा हाली राजविराज–११ फर्सेठका युवाको समूहले आक्रमण गरि घाइते बनाएका थिए ।
घाइते यादवको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको मृतकका बुवा नेकपाका नेता भनालाल यादवले जानकारी दिए ।
हत्यामा संलग्न सबै फरार भए पनि उनीहरुको पहिचान खुलिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । डिएसपी रिमालले पुरानो रिसइवीका कारण हत्या गरिएको बताउँदै यादवको मृत्युपछि एक जनालाई पक्राउ गरिएको तथा थप व्यक्तिहरुलाई खोजी कार्य तिब्र रुपमा भइरहेको डिएसपी रिमालले जानकारी दिए ।
पोष्टमार्टमपछि स्थानीयवासीले सदरमुकाम राजविराजमा मृतकको शवसहित नगर परिक्रमा गर्दै हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।