– केजिन राई, ब्रसेल्स बेल्जियम –
बेल्जियममा यही अक्टोबर १४ तारीख हुन गइरहेको स्थानीय र प्रादेशिक निकायको निर्बाचनमा एक दर्जन नेपाली उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दै छन् । बेल्जियमका विभिन्न सहरहरूबाट चुनावी मैदानमा उत्रेका नेपालीहरू सत्तासिन र प्रमुख प्रतिपक्ष भिन्न स्थापित राष्ट्रिय ६ राजनैतिक दलको तर्फबाट आफ्नो उम्मेदवारीका साथ मैदानमा उत्रिएका छन ।
दुई दशक देखि बसोबास गरेका नेपालीहरूले यही लगावलाई नछाड्ने हो भने भविष्यमा बेल्जियमको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान लिनसक्ने बताइन्छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले लुभेनमा गरेको एक अन्तक्र्रियामा पत्रकारहरूले उम्मेदवारी, एजेन्डा र भविष्यमा गर्ने योजनाहरू बारे उमेदवारसंग जिज्ञासा राखेका थिए ।

धेरै संख्यामा नेपाली उम्मेदबार लुभेन सहरबाट रहेका छन् । जसमा ५ ओटा राजनैतिक दलबाट ५ जना उम्मेदवार रहेका छन् । लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको सोसलिस्ट पार्टी एसपीआले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने समाजबादी (कम्युनिष्ट पार्टीको रूपमा परिचित पिभिडीएले लोक रानामगरलाई उम्मेदवार खडागरेकोछ । सोही नगरपालिकामा राष्ट्रिय पार्टी सीडीएंडभीले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेदवार बनाएको छ । आप्रवासी प्रति कठोर र राष्ट्रबादको नारा दिने पार्टी एनभीआले कृष्ण क्षेत्रीलाई अगाडि सारेको छ ।

सोही भ्लाम्स क्षेत्रमा पिभिडीए पार्टीले डिल्लीराम भण्डारीलाई प्रदेश संसदको लागि खडा गरेको छ । बेल्जियमको अर्को व्यापारिक शहर अन्त्वेर्पेनबाट महानगरको काउन्सिलर पदका लागि लिला शर्मा मानन्धरलाई सी डिएंडभी पार्टीले आफ्नो उम्मेदबार बनाएर चुनावी मैदानमा अगाडि सारेको छ । सोही पार्टीले अर्को विलरीक शहरबाट श्याम श्रेष्ठलाई उम्मेद्वार बनाएर चुनावी मैदानमा उतारेको छ । एसपीआले नै शोभा लिम्बु ओस्तंडेबाट , दिएस एबाट किसन केसी अन्त्वेर्पेन शहरको स्थानीय निकायमा उम्मेदबार रहेका छन ।

बलिराम झा, लीला शर्मा मानन्धर , सूर्य ढकाल र कृष्ण क्षेत्री नेपाली कांग्रेसको राजनीतिमा प्रचलित नामको रूपमा रहेका थिए । प्रखर बक्ताको रूपमा परिचित लिला शर्मा मानन्धर राजनीति शास्त्रमा स्नाकोत्तर हुन भने लोक रानामगर लामो राजनैतिक पृष्ठभूमि बोकेका संघीय समाजबादी फोरम सम्बद्ध व्यक्ति हुन् । पिएन क्याम्पसबाट ब्याचलर्स डिल्लीराम भण्डारी नेकपा माओवादीको राजनीतिमा सक्रिय नाम हो भने कुशल श्रेष्ठ विद्यार्थी । नेपाली कलाकारिता जगतमा श्याम श्रेष्ठ स्थापित नाम हो, रश्मी निरौला काठमाडौंको सेन्ट जेभियरबाट ब्याचलर्स हुन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ यूरोप अध्यक्ष केजिन राईको सभापतित्व र सल्लाहकार पंचम अधिकारीको संचालन संचालनमा भएको थियो । कार्यक्रममा महासंघ केन्द्रीय संगठन समिति सदस्य ओम शर्मा, बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई सदस्यहरू बीरमान मगर , निलम घिमिरे लगायत पत्रकार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !