धनुषा, २८ असोज – धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताउनुभयो । मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ । शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो ।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस !