काठमाडौं । एकातिर ३० वर्षदेखि राजा हुँदै राष्ट्रपतिसम्मले चढ्दै आएको फ्रान्स निर्मित दुई थान सुपर पुमा हेलिकोप्टर विदेश लगेर जुवाडेले मस्ति मारिरहेका छन् । अर्कातिर राजा वीरेन्द्रकै पालादेखि नेपाली सेनालाई एम्बुसमा पारेर आरजे १०० देखि अन्य जहाज भिडाउन कसरत गर्दै आएका फर्निचर व्यापारी र हतियार दलाल रोहिणी थपलियाको पछिल्लो कोसिस बल्ल सफल भएको छ ।

राजा नरहेकोबेला सम्धी लोकमानसिंह कार्कीलाई क्षेत्राधिकार नाघेर भनसुन गर्न लगाई उनले मोटो कमिशनसहित किनाएको इटालियन कम्पनी अगुस्ताका दुई हेलिकोप्टर काठमाडौं आइपुगेका छन् । ए डब्ल्यु १३९ नामक १५ सीटे जहाज हुन्, नेपालमा ल्याण्ड भएका । ती हेलिकोप्टर एउटैको मूल्य १४ दशमलव १ मिलियन डर पर्छ । दुईमध्ये एक हेलिकोप्टर अगस्टको १७ र अर्को गत शनिबार काठमाडौंमा अवतरण भएका हुन् । हेलिकोप्टर त आयो, तर खरिद सम्झौता गर्ने तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवकास पाएपछि, अर्थात् ढिलो गरी । अहिले भुक्तानीमा समस्या छ । अमेरिकी डलरको भाउ बढेर १ सय १९ पुगेको छ । सेनाले हेलिकोप्टर खरिदकर्ता कम्पनीलाई किस्ता–किस्तामा पैसा तिर्नुपर्ने सम्झौताअनुसार सामान आइसके पनि सबै भुक्तानी बाँकी छ । तर, डलरको भाउ बढ्नाले अब सेनालाई २–३ करोडको अतिरिक्त आर्थिक भार थपिनेछ । अहिलेसम्म ती हेलिकोप्टर खरिदका लागि ४० प्रतिशत भुक्तानी बाँकी छ । पूर्णतः अटोमेटिक सिष्टमको हेलिकोप्टर हो यो । २८० प्रतिघण्टाको गतिमा उड्छ ।

यिनै ठेकेदार रोहिणीले प्रज्वलसमशेरकै पालामा राजा वीरेन्द्रलाई झुक्याई अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे १०० नामक जहाज भिडाउन खोजेका थिए । अहिले पनि इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर ल्याउन लोकमानको दबाबमा उनलाई मात्र मिल्ने गरी स्पेसिफिकेशन तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस !