नवलपरासी, २९ असोज – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउन आम्दानीका स्रोत बढाउनुपर्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राज्यको स्रोत बढाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि भएकाले सरकारले स्मार्ट कृषि आयोजना लागू गर्ने योजना बनाएको जानकारी उहाँले दिनुभयो ।

पूर्वाधार विकासतर्फ सडक सञ्जाल नपुगेका ३२ स्थानीय तहमा सडक पु¥याउने रणनीति लिइएको बताउँदै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयोे । प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, दीपेन्द्र अधिकारीलगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !