चितवन, ३१ असोज । चितवनमा आज दिउँसो मारुती भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाईते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक पोखराबाट धादिङ तर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशा तर्फ गईरहेको दुध बोक्ने बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
दिउँसो १२ः४० बजे भएको सो दुर्घटनामा परि टंयाकर चालक सुन्दर खड्का, धादिङ बैरेनी–६ बस्ने वर्ष ४ का रोशन गैरेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । अर्का एक जना मृतकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए । उनीहरुको शव भरतपुर ल्याईएको छ ।
यस्तै दुर्घटनामा परि चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा धादिङ बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही स्थानका वर्ष १७ का विक्रम गैरे, वर्ष १९ का सन्दीप मल्ल र अर्का एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।