घोराही, ५ कात्तिक – गत वर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुला गरियो । घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको हुँदा आवेदन दिनुभयो । पहिलो चरणमा नाम निस्कियो । लिखितमा उत्तीर्ण पनि हुनुभयो तर मौखिकमा प्रश्नकर्ताले उहाँलाई “फिल्ड जानुपर्छ तपाईँ सक्नुहुन्न होला” भनेर उहाँलाई अनुत्तीर्ण पनि गराइदिए । उहाँले अर्का ठाउँमा पनि प्रयास गर्नुभयो तर नमीठो भोगाइ पाउनुभयो ।
नेपाली साहित्यमा स्नातकोत्तर विवेक खड्का लामो समय पत्रकारिता गर्नुभएका जुझारु र क्षमतावान् हुनुहुन्छ । ‘रेडियो स्वर्गद्वारी’मा कार्यक्रम सञ्चालक र समाचार वाचकका रुपमा उहाँले १२ वर्ष बिताउनुभयो । विभिन्न औपचारिक कार्यक्रममा उहाँ सधैँ एउटा प्रष्ट र धारावाहिक वक्ताका रुपमा प्रस्तुत हुनुहुन्छ । जुनसुकै क्षेत्रमा पनि आफूलाई खरो रुपमा उतार्न सक्ने उहाँको क्षमता छ । सरकारी निकायसँग समन्वय गरेर काम गर्ने विभिन्न सङ्घसंस्थामा पनि उहाँले कामको लामो अनुभव संँगालिसक्नुभएको छ ।

आफ्नो एउटा खुट्टामा सामान्य कमजोरी हुँदा उहाँ लौराको सहायताले हिँड्नुहुन्छ । समाजमा आफ्नो राम्रो प्रस्तुति देखाइसक्नुभएका खड्कालाई जागीरका लागि धाउँदा क्षमताले होइन शरीरले धोका दिने गरेको छ । पटक पटक अपाङ्गताको कारण देखाउँदै जिम्मेवार व्यक्तिले नै आफ्नो क्षमतालाई ओझेलमा पारेको देख्दा उहाँलाई दिक्क लागेर आउछ । ‘अपाङ्गता भए पनि भनसुन गरे जागीर पाइन्छ तर क्षमताकै आधारमा पाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “क्षमता र अनुभवको आधारमा पटक पटक जागिर खान खोजेँ तर असफल भएँ ।”

जागीरमा क्षमताभन्दा शरीरलाई प्राथमिकता दिँदा उहाँजस्ता क्षमतावान् व्यक्ति अवसरबाट वञ्चित हुनुपरेको छ । उहाँ मात्र होइन शारीरिक रुपमा अपाङ्गता भएका गाउँपालिका ३ भैसहवाका रामशङ्खर यादवसँग पनि खड्काकै जस्तो अनुभव छ । प्रतिस्पर्धाबाट अन्तिम दुई जनामा पर्नुभएका यादवलाई पनि अन्तर्वार्ताका क्रममा उस्तै प्रश्न दोहोरियो “फिल्ड हिँड्नुपर्छ, तपाईँ सक्नुहुन्छ होला र” भन्ने । अन्त्यमा अवसरबाट वञ्चित गराइयो । अहिले उहाँ अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चमा काम गर्नुहुन्छ । अन्य स्थानमा कुनै पनि निकायमा कर्मचारी आवश्यकताको विज्ञापन आयो भने उहाँलाई सितिमिती दरखास्त दिन गाह्रो लाग्छ । शारीरिक अवस्था हेरेर इन्कार गरेको देख्दा मनै भाँचिएर आउने गरेको उहाँले सुनाउनुभयो ।
जति नै पढेलेखेका वा बुझेका भनिएका व्यक्तिले पनि अवसर दिने विषयमा विभेदको दृष्टि राख्ने गरेको अपाङ्गताका क्षेत्रमा काम गरिरहनुभएका पत्रकार शिव घर्ती बताउनुहुन्छ । “जति नै क्षमता भए पनि अरुले जति गर्न सक्दैनन कि भन्ने सोच अधिकासं व्यक्तिहरुमा आउछ ।” उहाँले भन्नुभयो, “पछिल्लो समय अपाङ्गता भएकालाई सम्मानित व्यवहार गरे पनि अवसर दिने सवालमा हच्किन्छन् ।”

अपाङ्ग मानवअधिकार एवम सरोकार मञ्चका कार्यक्रम संयोजक चिन्तामणि पौडेल पनि अवसर दिने समयमा अपाङ्गता भएकाहरुलाई विभेद गरिने गरेको बताउनुहुन्छ । अपाङ्गता भएकाहरुसँग पनि क्षमता हुन्छ र उनीहरुले पनि अरुले बराबर काम गर्न सक्छन् भन्ने सोच सबैमा आउन नसकेको उहाँले सुनाउनुभयो । सरकारी एवं अर्धसरकारी क्षेत्रमा पनि अपाङ्गताको भागमा अरु नै जाने गरेको उहाँको गुनासो छ ।
“अपांगता भएकाहरुको लागि भनिएको हुन्छ तर साँच्चिकै अपाङ्गता भएकाहरुले अवसर पाउँदैनन्, अपाङ्गता भएकाको नाममा अरु नै पुगिरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “अपाङ्गता भन्छन् तर सामान्य हातको, खुट्टाको एउटा औँला नभएकाले अवसर पाउँछन् जबकि उनीहरु सबलाङ्ग सरह हुन्छन् ।” उसो त अपाङ्गता भएकाहरुलाई सितिमिती काम र नेतृत्वमा अवसर पाउन मुश्किल छ, त्यसमा पनि सरकारी क्षेत्रबाट हुने विभेदबाट तिनले झन् पीडा महसुस गरिरहेका छन् ।
विसं २०६८ को राष्ट्रिय जनगणनालाई आधार मान्दा दाङमा १२ हजार ८८१ अपाङ्गता भएका व्यक्ति छन् जसमा ६ हजार ८६० पुरुष र ६ हजार २१ महिला छन् । शारीरिक अपाङ्गता भएकाहरु मात्रै चार हजार २२९ जना छन् । –रीता लामा (रासस)ः

प्रतिक्रिया दिनुहोस !