रसुवा, ५ कात्तिक – नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गर्नुभयो ।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिनुभयो ।

साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा विसं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र विसं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महीना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ । नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

कालीजङ्ग गणका गणपति बानियाँलगायत गण परिवारबाट धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण भएको र रसुवागढीमा स्तम्भसहितको झण्डा फहराइएको जस्ता महत्वपूर्ण योगदान भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा समुद्र सतहदेखि एक हजार ८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजीक पर्छ । नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो । विसं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करीब ७० प्रतिशत सकिएको छ ।
––– –ज्ञानेन्द्र न्यौपाने
(रासस)

प्रतिक्रिया दिनुहोस !