चितवन, ८ कात्तिक । चितवनको पर्यटकीयस्थलहरुमा यतिबेला पर्यटकको आगमन बढेको छ । विशेषतः चाडबाडमा विदा भएकाले पनि यहाँका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि अहिले ‘सिजन’ सुरु भएकाले पनि चितवनको सौराहा, मेघौलीजस्ता क्षेत्रमा पर्यटकको चाप बढेको छ ।

पर्यटकको संख्या बढेको मौका छोप्दै नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा जीप सञ्चालक र गाईड अफिसले मनोमानी गरिरहेका छन् । आफूखुसी शुल्क लिदै जीप सफारी गराउने गरेको पाइएको छ । उनीहरुको मनपरीका कारण यहाँ घुम्न आएका पर्यटकले भने ठगिएको महसुस गरेका छन् । चितवन निकुञ्जको मुख्य प्रवेशद्वारमा जीपको लाइन लाग्छ । कतिपयले म्याजिक, अटो तथा टाँगाबाटै कमिसन मिलाउँदै जीपमा लैजाने गरेका छन् । जीप सफारीका लागि प्रतिव्यक्ति रु. ५ सय लिने गरिएपनि दशैंका बेला पर्यटक धेरै आएकाले यसको मौका छोप्दै प्रतिव्यक्ति २ हजारसम्म लिने गरेको गुनासो आएको छ ।
२ दिनअघि पोखराको जीबीएस बोर्डिङबाट सौराहा घुम्न आएका विद्यार्थीले प्रतिव्यक्ति २ हजार रुपैयाँसम्म तिरे । बुधबार चितवन निकुञ्ज प्रवेशद्वारमा भेटिएकी गोर्खाकी दुर्गा अधिकारीले शुल्क बढी हुँदा जीप सफारी गरिनन् । अधिकारी आफन्तका साथ यहाँ घुम्न आएकी थिइन् । जीप सफारी गरेर वन्यजन्तु हेर्ने धोको भएपनि प्रतिव्यक्ति १ हजार १ सय भनेकाले आफूहरुले जीप सफारी नगरेको अधिकारीले बताइन् । “दशैंको विदा सदुपयोग गर्न सौराहा आउँदा जीप सफारी गर्ने इच्छा बनायौं”, अधिकारीले मन खिन्न बनाउँदै भनिन्, “तर शुल्क सुन्दा अचम्मित भयौं, यहाँ त मौकोमा चौका हान्दा रहेछन् ।”

काठमाडौबाट आफन्तका साथ सौराहा आएकी सोफिया पाण्डेले प्रतिव्यक्ति १ हजार १ सय तिरेर जीप सफारी गरेको बताइन् । उनी चढेको जीपमा ८–९ जना आन्तरिक पर्यटक थिए ।
पर्यटकले सामान्य अवस्थामा अधिकतम ६ सय ५० रुपैयाँसम्म तिरेर २ घण्टासम्म यहाँका सामुदायिक वन क्षेत्र घुम्न पाउँछन् । एउटा जीपमा बढीमा १२ जनासम्म राख्न मिल्छ । विनादर्ता रहेका गाईड अफिसले पर्यटकलाई झुक्याएर लैजाने गरेको निकुञ्ज बाहिर सञ्चालनमा रहने जीप सञ्चालन समितिका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले बताए । “हाम्रो समितिमा आबद्ध जीपबाट यस्तो हर्कत भएको छैन”, अधिकारीले भने, “हिडुवा गाईड र विनादर्ता सञ्चालनमा रहेका गाईड अफिसबाट पर्यटक ठग्ने काम भएको छ ।”

उनीहरुले म्याजिक, अटो तथा विद्यार्थी बस रोकेर कमिसनको लोभमा पर्यटकलाई बढी शुल्क तिर्न बाध्य पारिएको अधिकारीले बताए । तर, पर्यटकले पनि आफूले मूल्यका बारे अग्रीम जानकारी लिनुपर्ने उनको सुझाव छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी गाईड अफिस र केही जीप सञ्चालकले मनोमानी मूल्य लिने गर्दा सन्देश राम्रो नजाने बताउँछन् । “अत्यधिक पर्यटक देख्दा लोभ गर्न हुन्न, पर्यटन व्यवसाय दिगो बनाउनुपर्छ”, रेवानका अध्यक्ष गिरीले भने, “क्षणिक कमाइले यहाँको सन्देश अरु ठाँउमा नराम्रो पुग्न सक्छ, यसतर्फ ध्यान दिन जरुरी छ ।” चर्को मूल्यका विषयमा आफूहरुले यहाँका सरोकारवालासँग छलफल गरिरहेको पनि गिरीले बताए ।
सौराहामा वार्षिक २ लाखभन्दा बढी पर्यटक घुम्न आउँछन् । चितवन निकुञ्ज र मध्यवर्ती सामुदायिक वन दुर्लभ वन्यजन्तु अवलोकन, थारु समुदायको संस्कृति अवलोकनमा प्रख्यात छ । विशेषतः दुर्लभ वन्यजन्तु हेर्नका लागि यहाँ बाह्य तथा आन्तरीक पर्यटक आउने गर्छन् ।

निकुञ्ज प्रवेश शुल्क बढ्यो
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेश शुल्क ३३ प्रतिशत बढाएको छ । असोज २९ गतेबाट शुल्क बढाइएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिनुपर्ने भएको छ । यसअघि नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ बुझाउँदै आएका थिए ।
अर्यालले ६ वर्षपछि समयसापेक्ष मूल्य समायोजन गरिएको बताइ । यसअघि २०६९ सालमा मात्र पर्यटक शुल्क वृद्धि भएको थियो । निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ राजश्व संकलन गरेको थियो ।
निकुञ्जले बढाएको शुल्कको सौराहाका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले पूर्वजानकारीविना निकुञ्जले शुल्कवृद्धि गरेको भन्दै विरोध जनाए । बेमौसमी ढंगले बढाइएको शुल्कले व्यवसायीलाई मर्कामा पारेको उनको भनाइ छ । निकुञ्जले चार दशकदेखि प्रवेश टिकट बेच्दा पनि व्यवसायीलाई उपभोक्ताको रुपमा नहेरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस !