काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा अवरोध पुर्याएको आरोप खेपेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बिहिबार बर्खास्त गर्ने निर्णय गरेको छ । उनीहरु दुवैले बुधबार गृहमन्त्रालयलाई स्पष्टिकरण बुझाएका थिए ।

गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक भट्टसँग स्पष्टीकरण सोधेको थियो । सो अनुसार प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टबाट पेस भएको स्पष्टीकरण मन्त्रालयमा बुझाएकोमा मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेमकुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तीको प्रक्रिया अगाडि बढाएका थिए ।

मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

गत साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरेपछि सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस !