काठमाडौं – भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज २०७५ सालको दसैँ तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दैछ । पार्टीले चियापान कार्यक्रममा झण्डै ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ । यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा नजाने हुनुभएको छ । उहाँले ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने पनि बताउनु भएको छ ।

आफूलाई एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको भन्दै भट्टराईले ट्वीटरमा लेख्नुभएको छ, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामनानिमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईँहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना । गरिब देशको सर्वहारा वर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि? त्यसैले म आउन सकिनँ । जय होस ।’

चियापानको निम्तो पठाउँदा नेकपाका अध्यक्षद्व केपी शर्मा ओली र प्रचण्डको संयुक्त नाममा निमन्त्रणा पत्र, अध्यक्षद्वयको अलग–अलग नाममा र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको नाममा शुभकामना पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !