दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

काभे्रपलाञ्चोक, १० कात्तिक – काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते हुनुभएको छ । घाइतेमध्ये भण्डारीको अवस्था गम्भीर छ । घाइतेलाई धुुलिखेल अस्पतालमा ल्याइएको छ ।

आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ ।

दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
––– (रासस)


सम्बन्धित शिषर्कहरु