– कौशल चेम्जोङ –
‘यो युरोप लाजलाग्दो छ’ भन्दै केही महिनाअघि स्पेनको बार्सिलोनामा छुट्टै राज्य क्याटालान कारलस पुइग्डेमोन्टको निम्ति हजारौं मान्छे उभिए । तर, स्पेनिस सरकारले पृथकतावादी नेतालाई प्रश्रय दिएन । हामीले पनि क्याटालानका नारालाई साथ दिएनौं । अनि कश्मिरका पत्थरवाजको पक्षमा मानवअधिकारको ढ्वाङ फुकेनौं । प्रस्ट छ, हामी पञ्चशील नीतिको पक्षधर हौं, अरूको आन्तरिक विवादमा घुसपैठ गरी उधुम मच्चाउने कुनै चाहना हुँदैन र त हामी शान्तिप्रिय छौं । तर, किन केही युरोपियन हामीलाई गिजोल्न खोज्छन् ? आफ्नो मर्यादा बिर्सेर सिके राउतहरूको पक्षमा उभिन्छन् ? आफूलाई बेल्जियन भन्नेहरु फ्लान्डरको पक्षमा कसरी उभिएलान् ? यस्ता आन्दोलनको पक्षमा नउठ्ने हात कसरी नेपाल टुक््रयाउनुपर्छ भन्ने सिके राउतको पक्षमा उठ्न सक्छ ? पत्यार गर्न गाह्रो पर्छ ।

बालुनहरूको स्वतन्त्रताको आवाजलाई दबाउनेहरूले देशद्रोह, राज्यद्रोह गर्ने लेन्डुपका नयाँवतारलाई काखी च्यापेर हिँँड्न मिल्छ ? बर्नहोम होस् वा फारेइ आइजल्याण्डका लागि लड्ने फरोइज इण्डिपेन्डेन्स मुभमेन्ट होस् समर्थन गर्न थर्थर काँप्ने हात किन यहाँ स्वतन्त्र मधेसको चुस्कीमा रमाउन खोज्या छ ? के फिनल्याण्डले अलान्ड राज्यलाई स्वीकार्छ ? के फ्रान्सेलीले बेक्स्यु स्वतन्त्र राज्यको पक्षमा आवाज उठाउने बेट्रोन्सहरूलाई धाप मार्छन् ? ती जर्मन जसले स्वतन्त्र बाभारियाको नाम सुन्न चाहँदैनन् तिनका कानले कसरी स्वतन्त्र मधेसको कुरालाई पवित्र मान्लान् ? सच्चा जर्मनेलीले फ्रिजियन, फ्रान्कोनियन, लुसातियाको पक्षमा रहेकाहरूको चर्तिकलालाई कसरी टुलुटुलु हेर्न सक्छन् ? हामी देश टुक्र्याउने, रगतको होली खेल्ने चाहनाको बिपक्ष र मधेसका जनताको पक्षमा छौं ।

कुनै पनि नाममा ग्रेटरबाट स्मल भएको अहिलेको नेपाललाई छियाछिया पार्न नमान्ने तराई मधेसका जनताको पक्षमा छौं । ती इटालियन जसले मोविभेन्टे ट्राइस्टे लिवेरा, टेरिटोरियो लिवोरो डि ट्रायस्टे आन्दोलनको विपक्षमा चर्को स्वर उराल्छन् तिनका दूतले कसरी सिके राउतको क्रियाकलापलाई जायज ठह¥याउन सक्छन् ? जुन इटालियनले लोम्बार्डी, सार्डिनियाको पक्ष लिन्छ, ऊ अपराधी हुन्छ भन्ने सोच्छ भने उसले हाम्रा सिके राउतलाई कसरी मुक्तिदाताको रूपमा प्रस्तुत गर्न सक्छ ? भन्देउ ठालूहरू, के मुसोलिनीको इटालीले टायरोल, सिसिलियन्स, भेनेटो र लिगुरियाको पक्षमा उभिनेहरूलाई माफ गर्छ ? अराजकता मच्चाउन छुट दिन्छ ? के हेर्दै छौ संघीय, प्रदेश र स्थानीय सरकार ? एकार्काको मेख मार्ने नाममा विभिषणहरूलाई, छातीमा नाच्न दिन्छौ ? नेपालै नरहे केमा लुछाचुँडी गर्छौ ?

नेदरल्याण्डले स्वशासनको माग गर्ने फ्रिजिया, ग्रोनिनगेन, आइन्डोभेन लिम्वर्गको स्वर सुन्नलाई पनि कठिन मान्छ भने नेपालमा स्वतन्त्र मधेसको पक्षमा उभिनेलाई कसरी धाप मार्ला ? के स्पेनिसले अन्दालुजियनहरूको पिछा लागेर हिँड्छन् । के स्पेनभित्र उठेको अन्दालुजिया, अरागोन, अस्टुरियन्स, क्याटालियन वा वेलियरिक्स, बेस्क्यू, क्यानेरियन्स, केन्टाब्रियन्स, क्यास्टिलियन्स, क्याटालन्स, गलिसियन्स, लियोनेज, मर्सियन्सको पक्षमा त्यहाँका सबै जनता उभिन सक्छन् ? उभिए भने हामीले भन्नैपर्छ जसले हामीलाई खान खोज्या छ भोलि वा पर्सि उसलाई पनि खान्छ !
नेपालमा पृृृथकतावादी आन्दोलनलाई काँध थापेर कुनै पनि युरोपियनले गर्वको अनुभूति गर्छ भने त्यो गम्भीर भूल हो । यसैलाई उत्प्रेरक कथाका रूपमा नेदरल्याण्डका फिजियनले, इटालीका सिसिलियनहरूले, बेल्जियमका फ्लान्डरले, स्पेनका क्याटालोनिया, फ्रान्सका सार्डिनियाले वाह क्याबात गरे भनेर कुनचाहिँ नोबेल विजेता युरोपियनले दावा गर्न सक्छन् ? के हामी क्याटालान लिडरको रूपमा रहेका कारलस पुइग्डेमोन्टको समर्थनमा काठमाडौंका सडक गल्लीमा नाराबाजी गर्न सक्छौं ?

पहिला इराकलाई टुक्रयाएर कुर्दिस्तान बनाउन उकास्नेहरू टर्कीको केही भाग पनि कुर्दिस्तान हुनुपर्छ भन्नेबित्तिकै कुर्दहरूको संहार गर्न अघि सरे । विश्व राजनीतिक घटनाक्रममा घृणावादी, पृथकतावादी आन्दोलनको स्वरूपलाई हेर्दा यसले कहिलेकाहीं जातीय नरसंहारलाई आमन्त्रण दिन्छ, रंगभेदलाई बढावा दिन्छ, शान्तिप्रिय नेपालीबीच वैमनस्यता पैदा गर्छ । अहिले गोरो र कालो, पहाडे र मधेसीमा रमाएका छन् । भोलि उनीहरू मैथिली, भोजपुरी, अवधि, उर्दु अनि बज्जिकामा रमाउनेछन् । त्यसपछि यादव, पिछडावर्ग, दलित, मुस्लिम, आदिवासी, ब्राह्मणआदीमा खेल्ने ठाउँ धेरै छ । करोडौं यदुवंशी एघार सयमा झर्नुपर्ने कारण के थियो ? यादवहरू धेरै भए पनि कोही मरवैता भए, कोही घोरसाइन भए, सोझोपनको फाइदा उठाएर करोडौं यदुवंशीलाई हजारमा झारेको इतिहास पढ्दै आएका हामी पनि सिके राउतहरूको यो जालमा पर्ने ? सिके राउतको पक्षमा उभिनेले बुझुन्– भारतलाई स्वतन्त्र सिक्किम मन पर्दैन भने स्वतन्त्र मधेस वा मध्यदेश वा मिथिला देश त झन् स्वीकार्य हुनै सक्दैन ।

एउटा उखानै छ, धोबीका कुत्ता घरका न घाटका । आज मधेस वा मिथिलाको कुरा उठाउनेले भोलि पटना र दरभंगामा पनि पैठ मार्ने छन् भन्ने बुझ्दा हुन्छ । केही नेपाली स्वनामधन्य बुद्धिजीवी तथा राजनीतिज्ञहरू जसले मधेस ठगिएको ठान्छन्, तिनलाई एउटा प्रश्न– पञ्चायती व्यवस्थाभरि विकासको स्रोत कहाँ खन्याइयो ? पहाडबाट तराई झर्न बाध्य हुनुपर्ने कारण के थिए ? धान फल्ने खेतका लागि मात्रै पहाडबाट औलो लागेर मर्न झरेका थिए ? पहाडे अहंकारवादको नाममा तराईका जमिन्दारहरूको शोषण र अत्याचारलाई कतिञ्जेल ढाकछोप गर्ने ? संस्कारका नाममा तराईका अल्पसंख्यक, पिछडावर्ग र दलितहरूलाई कतिञ्जेल दबाइराख्ने ? तराईको विकास र समृद्धिको मुख्य र असली बाधक को हो ? विश्लेषण गर्न नसक्ने, सके पनि ख्वामितहरूको इशारामा टेढो–टेढो गर्ने ? अनि सिके राउतहरूलाई उचालेर धमिलो पानीमै रमाइरहन खोज्ने ? हामीलाई थाहा छ, केही मुठिभर मान्छे नाकाबन्दीको बेला आर्थिक रूपमा सम्पन्न भएका छन् ।

युरोपियन युनियनका केही प्रतिनिधिले यस्तो कुरा बिर्सेर सिके राउतहरूको रिहाइदेखि हरेक कुरामा किन चासो व्यक्त गर्छन् ? के हामीले पनि क्याटालानप्रति चासो व्यक्त गर्न पर्ने हो ? के सिसिलियनको पक्षमा सडकमा ओर्लिनुपर्ने हो ? होइन भने यो दोहोरो परिभाषा र मापदण्ड किन ? युरोपमा अपराधी ठहर्ने पृथकतावादीहरू नेपालमा कसरी मुक्तिदाता हुन सक्छन् ?

प्रतिक्रिया दिनुहोस !