चितवन, १३ कार्तिक । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा डेढ करोड रुपैया बराबरको आर्थिक संकलन भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा सम्पन्न भएको महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा नगद तथा जिन्सी गरी सो रकम संकलन गरिएको मुल आयोजक समितिका संयोजक डण्डपानी लामिछानेले जानकारी दिए ।

महायज्ञमा नगदका अतिरिक्त भूमिदान, तुलादानबाट समेत रकम संकलन गरिएको थियो । सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय शैलीमा कथा वाचन गरेका थिए । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ को भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्य रहेको थियो । साथै महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए ।

महायज्ञमा कृष्ण बहादुर नेपाल र नर बहादुर नेपालले भूमिदान गरेका थिए । महायज्ञका पण्डित रेग्मीले महायज्ञ गर्दा लिइने पारिश्रमिक समेत नलिई थप नगद समेत विद्यालयलाई सहयोग गरेका थिए । त्यस्तै अर्का पण्डित बासुदेव घिमिरेले पनि नगद रकम सहयोग गरेका थिए । सो महायज्ञको सम्पूर्ण आम्दानी खर्चहरु केही दिनमा तयार गरी सार्वजनिक गरिने मुल समारोह समितिका संयोजक लामिछानेले बताए ।

वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयको ७ कठ्ठा १ धुर जग्गा रहेको छ । विद्यालयमा हाल १ देखी ७ कक्षासम्म अंग्रजी माध्यममा पठनपाठन हुँदै आएको छ । आगामी वर्ष कक्षा ८ मा पनि अंग्रेजी माध्यममा पढाई हुने बताइएको छ । महायज्ञको उद्घाटन पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डे यही कार्तिक ७ गते बुधबार उद्घाटन गरेका थिए । सो महायज्ञमा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो ।
-शिशिर सिंखडा-

प्रतिक्रिया दिनुहोस !