काठमाडौं । अस्तव्यस्तताको अवस्था हेर्न ओम अस्पताल पुगे हुन्छ । म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले यो अस्पतालमा अव्यवस्थाको नमुना नै प्रस्तुत गरेका छन् । कर्मचारीले उनको कार्यशैलीलाई राणाशासनसँग तुलना गर्ने गरेका छन् । जसकारण आफैंले स्थापना गरेको अस्पताल छाडेर डा.भोला रिजाल नै बाहिरिनुपरेको छ । ओम अस्पतालका पर्याय थिए डा.रिजाल तर दुई महिनायता उनी अलग्गिन बाध्य भए ।

कार्कीकै कारण डा.रिजालले आफैंले स्थापना गरेको संस्थाबाट बाहिरिनुपरेको छ । उनलाई आफ्नो मातृसंस्थाबाट बाहिरिन दिनु हुँदैन भनेर त्यहाँका समग्र कर्मचारी र कर्मचारी युनियन नै लागे पनि कार्कीको कडा शासनका कारण डा.रिजाल बाहिरिएको दृश्य टुलुटुलु हेरेर बस्न बाध्य भएका थिए । उनले शुरुमा कर्मचारी संघलाई नै आर्थिक प्रलोभनमा पारेर आफ्नो पक्षमा लिए र पछि विनोद यादवलगायत केही कर्मचारीलाई निलम्बन गरिदिएका थिए । जसकारण कर्मचारीले आफ्नो जागिरका लागि चुप लाग्नुपरेको थियो । अहिले त कर्मचारी संघ नै तैँ चुप मै चुप छ । कर्मचारीलाई कार्कीले एक्लाएक्लै कार्यकक्षमा बोलाएर जागिर खाइदिने र अदालत गएमा न्यायाधीश नै आफ्ना मान्छे रहेका भनेर धम्क्याउने गरेका छन् ।

उनी तीन वर्षअघि अस्पतालको व्यवस्थापन हेर्ने भनेर चाबहिलस्थित ओम अस्पताल छिरे पनि पछि शेयर नै हात पार्न सफल भएका छन् । दुई वर्षदेखि उनी म्यानेजिङ डाइरेक्टर छन् । उनी अस्पताल छिरेयता अस्पताललाई बर्सेनि घाटामा देखाउँछन् भने कर्मचारीले बोनस पाउन सकेका छैनन् । बिरामी घटेका छैनन् अस्पताल कसरी घाटामा छ त भनी प्रश्न गर्ने कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंलाई नै उनले आफ्नो पक्षमा पारेको गुनासो कर्मचारी गर्छन् । कर्मचारीले आफूले आफ्ना समस्या र गुनासा पोख्न चुनी पठाएको युनियनले नै आफ्नाविरुद्ध घात गरेको गुनासो गर्ने गरेका छन् ।

पछिल्लो समय कार्कीले आर्थिक चलखेलकै कारण डा.रिजाललाई बाहिरिन बाध्य पारेका हुन् । उनी आर्थिक चलखेलमा माहिर छन् । बिरामी र कर्मचारीलाई सुविधाभन्दा आफूलाई र सेयर होल्डरलाई फाइदा दिने तथा अस्पतालमा पारदर्शी काम गरेर कर तिर्नुपर्छ भन्दा आम्दानी नै नदेखाउने उनको बानीले गर्दा डाक्टर र त्यहाँका प्रशासक नै तर्सिन थालेका छन् । अहिले एउटा अस्पतालमा हुनुपर्ने मानवता, बिरामीप्रतिको दयामायाभन्दा पनि केमा बढी पैसा लिने भनेर पैसाको पछि लाग्ने उनको बानीका कारण अस्पताल प्रतिदिन अस्तव्यस्त हुँदै गएको कर्मचारी बताउँछन् । डा. रिजालले दिनमा १०० जना बिरामी हेर्ने र उनका कैयौँ अप्रेसन हुने गर्थे । अहिले उनले नेपाल मेडिकल कलेज जोरपाटी र ह्याम्स अस्पतालमा बिरामी हेर्ने गर्छन् ।

डा.रिजालले केही समयअघि आफूलाई ओमको व्यवस्थापनले दुव्र्यवहार गरेर निस्किनुपरेको गुनासो गर्दै बाहिरिएर नेपाल मेडिकल कजेलमा सस्तोमा विशेषज्ञ सेवा दिन थालेपछि त्यसको असर यता ओममा देखिएको छ । व्यवस्थापन र चिकित्सकबीच विवाद बढेपछि डा.रिजालले कार्कीलाई निस्किन भनेका थिए । तर कार्कीले भने अरू सेयर होल्डरहरूका साथै कर्मचारी युनियनलाई पनि आफ्नो हात लिएर रिजाललाई नै निकाल्ने षड्यन्त्र थालेका थिए ।

सुरुमा कार्कीको कुरा सुनेर डा.रिजाललाई निकाल्न लागिपरेका कर्मचारी अहिले भने वास्तविकता बुझेपछि पछुताएका छन् । उनीहरूले जसरी पनि डा.रिजाललाई ओममा फर्काउनुपर्ने प्रयास थालेका छन् । रिजालको असर अस्पतालमा देखिएको भन्दै कर्मचारीरूे यही २७ गते आयोजना गरिएको वार्षिकोत्सवमा कार्कीको विपक्षमा आन्दोलन नै गर्ने योजना बनाएका छन् । उनले बर्सेनि वार्षिकोत्सव महँगो गोकर्ण रिसोर्टमा आयोजना गर्ने, सेयर होल्डरका लागि बढी खर्च गर्ने तर कर्मचारीलाई भने कुनै वास्ता नगर्ने गरेकाले यसपटक भने कर्मचारीले यसबारे पनि कुरा उठाउने भएका छन् । यो वार्षिकोत्सव पनि गोकर्णमै आयोजना गर्ने तयारी उनको छ । अहिलेको कर्मचारी युनियन कार्कसँगै मिलेकोले अस्पताल बचाउन भन्दै कैयौँ कर्मचारीले अर्काे युनियन खोल्ने तयारी गरेका छन् । तर, उनीहरू कार्कीको कारबाहीमा पर्ने डरले बाहिरै भेला आयोजना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !