चितवन, १४ कार्तिक । नेपाल प्रेस युनियन चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आठौँ जिल्ला अधिवेसन अध्यक्षमा निर्वाचित अनिल ढकाल निर्वाचित भएका थिए । निर्वतमान अध्यक्ष नारायण अधिकारीले नवनिर्वाचित अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरे । अध्यक्ष बाहेकका अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

निर्वतमान सचिव अनिल ढकालले निर्विरोध निर्वाचित सचिव प्रस्ताव सुवेदीलाई माइन्युट हस्तान्तरण गरे । यस्तै निर्वतमान कोषाध्यक्ष विष्णुकान्त काफ्लेले निर्विरोध निर्वाचित विप्लव काफ्लेलाई चेकबुक हस्तान्तरण गरे । यस्तै सर्वसम्मत चयन भएका पदाधिकारी, सदस्यहरु, केन्द्रीय प्रतिनिधि, प्रदेश पार्षदलाई निर्वाचन समितिका संयोजक विष्णुप्रसाद अर्यालले प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सरकारले निर्धारण गरेको पारीश्रमीक पत्रकारले पाउने वातावरण बनाउन नेतृत्व गर्न आग्रह गरे ।

“सञ्चार क्षेत्रमा न्यून तलबमा काम गर्नुपर्ने अवस्था सुन्ने गरेका छौँ”, उनले भने, “राज्यले तोकेको पारीश्रमीक कार्यान्वयन गराउन प्रेस युनियनले शसक्त भूमिका खेलोस् ।” पत्रकारका समस्या निराकरण गर्न प्रेस युनियनले अगुवाई गर्न सुझाए । उनले वेथिती र गलत काम विरुद्धका समाचार खोजी गर्ने जनशक्ति उत्पादनमा सक्रिय बनाउन आग्रह गरे । उनले पत्रकारको संगठन भएकाले दलीय आस्थाका आधारमा कलम चलाउन निरुत्साहीत गर्नुपर्ने बताए ।

“गलत कामको विरोध हुनुपर्छ, राम्रा काम उजागर हुनुपर्छ”, उनले भने, “कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन, सहकार्य गर्न तयार छौँ ।” प्रदेश सांसद गीता वाग्लेले पत्रकारीतालाई मर्यादित बनाउन आवश्यक रहेको बताइन् । उनले समाजको ऐनका रुपमा रहेको पत्रकारीतालाई आग्रह पूर्वाग्रह रहित बनाउनुपर्ने बताइन् । प्रदेश सांसद मिलनबाबु श्रेष्ठले समाजलाई सूूचित गर्ने कार्यमा अग्रसर बन्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सचिव उत्तम जोशीले तीन तहका सरकारलाई खबरदारी गरेर सहि बाटोमा अघि बढ्न घच्घच्याइरहनुपर्ने बताए । चेम्वरअफ कर्मस चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठले पत्रकारीतालाई अपवाह फैलाउने माध्यमका रुपमा लैजाने परिपाटी अन्त्य गरिनुपर्ने बताए ।

प्रेस युनियन चितवनका निर्वतमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारको क्षमता विकास, अधिकार कार्यान्वयन गराउन विशेष पहल गर्न आग्रह गरे । नवर्निवाचित अध्यक्ष अनिल ढकालले पत्रकारको गुणात्मक विकासका लासग नवनिर्मित युनियनको भवनको सहि सदुपयोग गरिने बताए । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, निर्वतमान कोषाध्यक्ष विष्णुकान्त काफ्ले लगायतले मन्तव्य राखे ।
यसैबीच, नेपाल प्रेस युनियन चितवनको पहिलो बैठकले सहसचिवमा आशा खरेललाई मनोनयन गरेको छ । सो पदमा कुनै उम्मेदवारी नपरेपछि कार्यसमिति सदस्य खरेललाई सहसचिवको जिम्मेवारी दिइएको सचिव प्रस्ताव सुवेदीले जानकारी दिए । बैठकले रमेश बस्ताकोटीको संयोजकत्वमा तालिम तथा प्रशिक्षण समिति बनाउने निर्णय गरेको छ ।

अधिवेसनको बन्द शत्रले पारित गरेको निर्णयलाई अनुमोदन गर्दै समितिलाई आधिकारिकता प्रदान गरेको हो । प्रेस युनियन चितवनको सल्लाहकार संयोजकमा निर्वतमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई मनोनयन गरेको छ । सल्लाहकार समितिमा पूर्वअध्यक्ष बसन्त पराजुली, अध्यक्षका प्रत्यासी पूर्ण शर्मालाई मनोनयन गरेको छ । यस्तै नेपालीहरुको चाडहरुलाई लक्षित गरी यही कार्तिक १९ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत निर्णय पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !