प्रकाश सिग्देल

चितवन, १४ कार्तिक । योगी नरहरि नाथको नाममा खुलेको चितवको देवघाटस्थित बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरि नाथ आश्रममा तस्करहरुले राज गर्न थालेका छन् । निकै पवित्र धार्मिक स्थानकोरुपमा रहेको बागेश्वरी क्षेत्रमा ब्यापारिक समुहको प्रवेशसंगै त्यहाँ राजनीति गर्ने र वन पैदावार तस्करी हुने गरेको समेत पाइएको छ ।

 

योगी नरहरि नाथको आश्रम रहेको सो स्थानमा भरतपुर मेडिकल कलेजले निमार्ण गरेको भौतिक संरचनामा प्राकृतिक चिकित्सालय निमार्ण गर्ने नाममा एक समूहले त्यसको दुरुपयोग गरी त्यहाँबाट कमाई खाने माध्यम बनाउदै लगेको आरोप समेत छ भने त्यहाँका पूर्वाधार मर्मतको नाममा आन्तरिक मिलेमतोमा सालका काठ तस्करी समेत गर्ने गरेको भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका १ मा रहेको बागेश्वरी क्षेत्रबाट सोमबार दिउसो २ बजे १ सय १२ क्युविक फिट काठ चिरान गर्दै गरेको अवस्थामा बरामद गरिएको छ ।

तर जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापा निरुले आफुहरुले सो क्षेत्रबाट ५६ क्यूविक फिट मात्रै काठ बरामद गरेको बताउनु भयो । आफुहरुले त्यहाँ कोही पनि ब्यक्ति नभेटेकोले काठ वेवारिसेरुपमा बरामद भएको उहाँको भनाई छ । तर त्यहाँ काठ बरामद गर्न पुगेको टोलीले त्यहाँका जिम्मेवार व्यक्ति र आरा कसीलाई भगाएपछि मात्र काठ बरामदको नाटक गरेको घटना निकट स्रोतले बताएको छ । बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरि नाथ आश्रमका अध्यक्ष शान्तप्रसाद पोखरेलले आफु केही महिनादेखि बुबाको उपचारमा बिदामा रहेको र कार्यवाहकको जिम्मा ऋषिराज पाण्डेलाई दिएको बताउनु हुन्छ ।

१ सय १२ क्युविक फिट काठ चिरान गर्दै गर्दा समातेको भन्ने सूचना आफुले पाएको बताउदै पोखरेलले बागेश्वरीबाट काठ काट्ने निर्णय नभएको र त्यो बिषयमा कुनै समितिमा पनि छलफल नभएकोले त्यो काठ अवैध तरिकाले काटिएको उहाँको भनाई छ । प्राकृतिक चिकित्सालय परिसरमा चिराउदै गरेको काठ बरामद भएकाले प्राकृतिक चिकित्सालयको समिति त्यसको जिम्मेवार बन्नु पर्ने बताउदै संरक्षणको नाममा तस्करी गर्ने समितिका पदाधकिारी कर्मचारी जो भएपनि कडा कारवाही हुनु पर्ने पोख्रेलको भनाई छ ।

यो बिषयमा भोलिपल्ट बिहान आफुले जानकारी पाएको र आफुले तत्काल जिल्ला वनका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई घटना बारे जानकारी गराउदा पनि अनुसन्धानका लागि केही पहल नभएकाले आन्तरिक मिलेमतोमा आफुलाई समेत आधिकारिक जानकारी नगराई यो समस्या समाधान गर्न खोजेको आफुले बुझेको र यसमा जो दोषी देखिएपनि तत्कालै कारवाही हुनु पर्ने उहाँको भनाई छ । साल तस्करी जस्तो बिषय आन्तरिक मिलेमतोमा मिलाउने कुरा कुनै हालतमा नहुने भन्दै पोख्रेलले यसको सत्य तथ्य छानविन हुनु पर्ने बताउनु भयो ।

कार्यवाहक अध्यक्ष ऋषि पाण्डेलाई बुझदा आफुलाई यो बिषयमा थाहा नभएको गैर जिम्मेवारपूर्ण जवाफ दिदै भवनकोे कुनामा तस्करले ल्याएर राति लानका लागि फालेको हुन सक्ने जिकिर गर्नुभयो । स्रोतका अनुसार प्राकृतिक चिकित्सालय समितिका केही पदाधिकारी र अस्पतालका कार्यकारी निर्देशकको मिलेमतोमा काम भएको बुझिएको छ । तर प्रशासन यो स्वीकार गर्न तयार छैन् ।

प्राकृतिक चिकित्सालय निमार्णको नाममा काठ तस्करी हुने, प्राकृतिक उपचारका नाममा भर्ना तथा बेड शुल्क भन्दै निकै महंगो शुल्क लिएर आफना सन्तानलाई जागिर खुवाउने काम भईरहेको भन्दै त्यहाँबाट प्राकृतिक चिकित्सालय खारेज गर्ने आश्रमका प्रमुख संरक्षक योगी शीर्ष नाथ तथा संरक्षक बेघ्र बेधनाथ बताउनु हुन्छ ।

गुरुको नाममा समितिले बेइज्जत गरी त्यसको महत्व धराशायी बनाउने खेल भएकाले तत्काल त्यहाँको समिति खारेज गरी चिकित्सालय हटाउने र त्यसलाई आध्यात्मिक केन्द्र बनाउने योगी बेघ्र बेधनाथ बताउनु हुन्छ । त्यहाँ धार्मिक बन अन्तर्गत ४८ हेक्टर जग्गा रहेको छ । जुन क्षेत्र योगी नरहरि नाथको आश्रम हो ।

प्रतिक्रिया दिनुहोस !