मोहन चन्द
बैतडी कार्तिक १५ । बैतडीमा सासुबुहारी बेपत्ता भएकोमा बुहारी बिहीवार मृत फेला परेकी छन् भने सासु बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनु भयो ।
बेपत्ता हुनेमा मृतक निर्मलाकी सासु ५२ बर्षीया पार्वती भट्ट रहेकी छन् । बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझ सम्म पनि घर नफरकिदा सासु पार्वती खोजतलास गर्न जाँदा पार्वती समेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
दुबै जना रातीसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीवार बिहान स्थानिय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । निर्मलाकी सासु पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् ।
मृतक भटट्का दुई छोरा एक छोरी रहेका छन् । बेपत्ता पार्वतीको खोजीका लागी प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरीटोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडी बढाईएको छ ।