काठमाडौं । नवधनाढ्य अजेयराज सुमार्गी ठूलै तनावमा छन् । बाहिरबाट पैसा ल्याउने, नाफा कमाएको देखाएर फेरि विदेशतिर ओसार्ने धन्दा निकै मौलाएको छ । ५० लाख घटीको विदेशी लगानी ल्याउन नपाइने उद्योग विभागको नियम छ । थोरै रकम ल्याउन दिँदा झ्याउलो हुन्छ भनेर सीमा तोकिएको हो । यही नीतिको फाइदा उठाउँदै पाँच लाख, १० लाख कुचुकुचु ल्याउने, त्यो बहानामा बिजनेश भिसा लिएर अन्य धन्दा चलाउने क्रम बढेको छ । आउने व्यापारका नाममा तर, गर्ने धर्म प्रचार, एनजिओ विस्तार, शरणार्थीको खेती र जातीय विद्वेष । होटल व्यवसाय गर्छु भनेर नेपाल छि¥यो, जग्गा किनेर फर्कियो । केही समयमा जग्गाको भाउ बढेपछि त्यसलाई बेचेर नाफा खान फेरि आइपुग्यो । यदि, जारी गरिएजतिका बिजनेस भिसाका विदेशी नेपालमा छन् भने खोई त टनाटन उद्योग खुलेको र नेपालीले रोजगारी पाएको ?

सुमार्गीले भर्जिन आइल्याण्डको कम्पनी जोधारबाट नेपालमा पैसा ल्याउँदै आएका थिए । यी दुई कम्पनीबाट केही वर्षअघि उनको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा पटक पटक गरी झण्डै ११ अर्ब रुपैयाँ आएको थियो । शुरुमा स्वीकृति लिएरै केही रकम भित्रियो, तर आश्चर्यजनक रूपमा पैसा ओइरिन थालेपछि केन्द्रीय बैंकले सोधपुछ गर्न थाल्यो । अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्रबैंकको गभर्नर भएकै बेला ऋण भनेर ल्याइएको लगानी कुन प्रयोजनका लागि खर्च गर्ने भनेर जान्ने अधिकार राज्यको हुने बताउँदै ऋणका रूपमा लगानी ल्याउँदा ब्याज तिर्ने नाममा कर पनि नतिरी पुँजी पलायन हुने डर हुन सक्ने बताएका थिए ।

शुरुमै राष्ट्रबैंकबाट स्वीकृति लिएर सुमार्गीले तीन अर्ब त ल्याए । तर, त्यो रकमको स्रोत नै शंकास्पद छ । पछि सर्वोच्च अदालतले निश्चित ठाउँ तोकेर जुन प्रयोजनका लागि ल्याइएको हो, त्यहीँमात्र, अर्थात् सिमेण्ट उद्योगमा लगानी गर्नु भनेको छ । तर, सुमार्गी भने तोकिएबमोजिमको काम नगरी ऋण तिर्ने नाममा पैसा विदेश लान खोज्दै छन् । यहीँनेर राष्ट्रबैंकले उनलाई दुई महिनादेखि अँठ्याइरहेको हो । उनीसँग लगानीको क्षेत्र र प्रतिफल खोज्दै सर्वोच्चकै आदेशसमेतका आधारमा स्पष्टिकरण मागिएको छ । हाम्रो कमजोरी कस्तो भइदियो भने, विदेशबाट पैसा आएको कागज हेर्ने, तर उताको कम्पनी सक्कली हो कि नक्कली भनेर खोजीनीति नगर्ने । अनि, अनेक बहानामा कालोधनलाई व्याज या ऋण तिर्ने नाममा विदेश लगेर सेतोधनमा परिणत गर्न सघाऊ पु¥याउने ।

त्यस्तै, बहुराष्ट्रिय कम्पनीहरूमा समेत लगानी रहेका उद्योगपति विनोद चौधरीले विदेशबाट कसरी पैसा ल्याउँछन् र यताबाट बाहिर ओसार्छन् ? नेपालमा यसको पनि अनुगमन संयन्त्र छैन । बरु भ्याट छलेका झिनामसिना कुराले कहिलेकाँही मथिंगल तात्ने गरेको छ । विदेशी वा विदेशमा लगानीको नाममा चलिरहेको राष्ट्रिय अर्थतन्त्रको दोहनमा कहिल्यै सरकारको टाउको दुखेन । कम्तीमा केपी ओली सरकारले स्रोत नखुलेका र अनधिकृत तवरले भित्रिएका विदेशी रकम नियन्त्रण गरेर कालोबजारीजस्ता अदृश्य खेलमा चनाखो भूमिका अपनाउने छाँट देखाउँदै छ ।

प्रतिक्रिया दिनुहोस !