काठमाडौं । हामी वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न खाडी राष्ट्र पुगेका नेपाली कामदारको टाउको गन्छौँ, तिनी मरेर आए भने लाश पनि गन्छौँ । तर, बाँचेरै फर्किएका अधिकांश युवा रोग बोकेर आउँछन् । मर्दैनन्, तर मरेतुल्य जीवन स्वदेशमा बिताउँछन्– यसको चाहिँ गन्ती गरेका छैनौँ ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा मिर्गाैला प्रत्यारोपण गर्ने कूल बिरामीमध्ये २५ प्रतिशतको संख्या वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेको छ । अर्थात्, सय बिरामीमा २५ जना विदेशबाट फर्किएका हुने गरेका छन् ।

नेपालको जनसंख्यालाई तीन करोड मान्ने हो भने ठूलो संख्यामा मिर्गाैलापीडित युवा वैदेशिक रोजगारीमा छन् । त्यताबाट सग्लो फर्किने युवाको हिसाब गर्ने चलन हामीकहाँ छैन । लाशचाहिँ एउटा आयो भने हजारवटा आएजसरी हल्ला हुन्छ । तर, रोग बोकेर आउनेको कुनै हिसाब छैन । यस्तो विकराल स्थिति देखिएपछि मानव अंग प्रत्यारोपण केन्द्रले आफ्नो तालुकदार मन्त्रालय (स्वास्थ्य) मा स्थलगत अध्ययनका लागि प्रस्ताव पेश गरेको महिनौँ भइसक्यो । बिरामीको संख्या बढेको बढ्यै छ, तर यति गम्भीर विषयमा कसैले ‘चुँ’सम्म बोलेका छैनन् । वैदेशिक रोजगारीमा जानेमध्ये पनि बढीजसो हेभी ड्राइभर र कन्स्ट्रक्सनमा काम गर्ने युवामा यस्तो समस्या आउने गरेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।

४० डिग्रीभन्दा माथिको उच्च तापक्रममा मास्क र बाक्लो लुगा लगाएर काम गर्नुपर्ने, त्यसमाथि आउटडोर लेबरको काम गर्नेहरूमा डिहाइड्रेसन (सुख्खापन) बढ्ने समस्या हुन्छ । हेभी गाडी चलाउनेले भनेको बेला दिसा, पिसाब गर्न नपाउने कारण त्यसले मिर्गाैलामा असर गर्छ । बेलामा पानी पिउन पाइँदैन । उच्च तापक्रमका कारण शरीर सुख्खा हुन्छ । त्यो सुख्खापनलाई बेलैमा पानीले पुर्ताल नगर्दा सोझै मिर्गाैलामा हान्छ । त्यसमाथि नेपाली न हुन्, जहाँ पुगे पनि रक्सीको जोहो गरिहाल्ने ।

केही नपाए ड्राइभिङमा गएका युवाले डिजेलमा पानी मिसाएर पिउनेसम्मका घटना छन् । डिजेलले झुम्म मात्रै पार्दैन, शरीर पनि तताउँछ । न्युन गुणस्तरका रक्सी सेवनले मिर्गाैलामा असर गर्ने भइहाल्यो । मदिरा सेवन गर्दा शरिरमा पानीको मात्रा मिलेन भने त्यसले आक्रमण गर्ने मिर्गाैलामै हो । त्यसमाथि कतिपय युवा यहाँबाट विदेशिँदैमा धेरथोर स्वास्थ्यसम्बन्धी समस्या बोकेर हिँडेका हुन्छन् । डा.पुकारचन्द्र श्रेष्ठका अनुसार, वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षण विधिका लागि विधि पु¥याउनेखालको हो कि होइन भन्ने कुरामा सरकारले ध्यान दिनुपर्छ । भन्छन्, ‘स्वास्थ्य परीक्षणको हाम्रो गुणस्तरमै समस्या हो कि ? त्यो पनि हेर्नुपर्छ ।’ मानव अंग प्रत्यारोपण केन्द्रमा पुग्ने वैदेशिक रोजगारबाट फर्किएका युवामध्ये सबभन्दा बढी कतार र त्यसपछि संयुक्त अरब इमिरेट्स (दुबई) का छन् । रोजगारदाताले निश्चित तापक्रमभन्दा माथिको तापक्रममा कसैलाई काममा लगाउन पाउँदैनन् । तर, नेपालीले भने संसारमा कतैका कामदारले नगरेको पौरख देखाउँछन्, ओभरटाइमका नाममा । ओभरटाइम गर्दा अतिरिक्त कमाइ हुन्छ । तर, त्यसले गर्दा आफ्नो स्वास्थ्यमा समस्या परिरहेको कुरा समस्या आइसकेपछि मात्र पत्तो पाउँछन् ।

प्रतिक्रिया दिनुहोस !