लोडसेडिङ अन्त्य – चमत्कार हैन, राम्रो व्यवस्थापन

काठमाडौँ । लोडसेडिङ हटाउने सरकारकै योजना थियो । तर लोडसेडिङ कहिले अन्त्य गर्ने, कसरी अन्त्य गर्ने भन्ने योजना बनाउने काम प्राधिकरणको थियो । कुलमानले फेरि स्मरण गरे– ‘त्यो बेलाको प्रधानमन्त्री, मन्त्री सबैको योजना त लाडसेडिङ अन्त्य गर्ने भन्ने थियो । तर त्यसलाई कसरी गर्ने भनेर यहाँ बस्ने योजनाकारहरूले नै गर्ने हो । त्यो हिसाबाले प्रधानमन्त्री, मन्त्रीदेखि सबैको सहयोगले साथ दियो । हाम्रो प्राधिकरणको टिमले एउटा योजना बनायो । प्राविधिक रूपमा कहाँ–कहाँ समस्या छ भनेर अध्ययन पनि गर्यौँ । सबै कुरा मैले मात्र गर्ने भन्ने हुँदैन, कहाँ कहाँ लोडको अवस्था छ त्यो लोड डिस्प्याच सेन्टरका इन्जिनियरहरूलाई थाहा हुने हो । त्यो समस्या समाधान गर्नका लागि कहाँ कहाँ के के गर्ने हो, कहाँ कहाँ ट्रान्सफर्मर थप्ने, योजना कसरी गर्ने, योजना कसरी बनाउने, मर्मत योजना कसरी गर्ने, यो सबै कुराको नेतृत्व मैले गरेको हुँ तर यो एउटा टिमवर्कले गरेको मिहिनेतको फल हो । एउटा व्यक्तिले मात्र गर्ने भन्ने हैन । व्यक्तिले नेतृत्व गर्ने र कसरी गर्न सकिन्छ भनेर मार्गनिर्देशन दिने हो । यो सम्भव छ भनेर मार्गनिर्देशन दिन नसकेको भए पहिलेकै अवस्थामा रहन पनि सकिन्थ्यो ।’

उनले थपे– ‘लोडसेडिङ अन्त्य सम्भव छ र भनेर सबैले पश्न गर्थे । हुन्छ र ? सक्छ र ? भनेर प्रश्न गर्थे । गरौँ न भन्ने भएपछि न गर्ने हो । नेतृत्वले अगाडि धकेल्ने त एउटा कुरा छँदैछ तर यसको जस भनेको त टिमवर्क नै हो ।’

चमत्कार हैन, राम्रो व्यवस्थापन
देशका विभिन्न स्थानमा स्थानीयले घर अगाडिको सडकको नाम, चोकको नाम कुलमान घिसिङको नामबाट राखेका छन् । यो देख्दा उनलाई कस्तो लाग्छ होला ? उनले भने– ‘मलाई एकदम ‘अड’ लाग्छ । राख्नेले राखे, त्यसमा मलाई भन्नु त केही छैन । तर अरूभन्दा पनि मैले काम गर्ने हो । प्रचारभन्दा पनि काम गर्ने हो । मैले प्रचार गर्यो भनेर पनि आरोप लगाउँछन् । तर मलाई प्रचार गर्न त्यति मन पनि पर्दैन । तर पर्फमेन्स राम्रो गर्दै जाँदा पब्लिसिटी पनि हुँदैजाँदो रहेछ ।’

जहाँसुकै गए पनि नेपालीले उनको अनुहार हेर्छन् र सोध्छन्, तपार्इं कुलमान घिसिङ हैन सोध्छन् । आफूले जहाँ गए पनि नेपाली जनताको माया र प्रशंसा पाएको कुराले अझै मैले केही गर्नुपर्छ भनेर झक्झक्याउने गर्छ । कतिपयले उनको विरोध पनि गर्छन् । तर कुलमानलाई लाग्छ विरोधीहरूले बाहिर गाली गरे पनि भित्र प्रशंसा पनि गरिरहेको होलान् । उनेले भने– ‘मेरो एउटा अनुभूति नि, काम गर्दा पब्लिकबाट जुन प्रशंसा पाइँदो रहेछ, त्यो नै ठूलो उपलब्धि हो, त्यसले झन् अघि बढ्न प्रेरित गर्दोरहेछ ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर काठमाडौंको मुटु रत्नपार्कमा रहेको प्राधिकरणको मुख्यालय छिर्दा लोडसेडिङ हटाउँछु भन्ने उनको उद्देश्य त थियो तर लोडसेडिङ हटेपछि जनताबाट यति धेरै प्रशंसा र माया पाउँछु जस्तो लागेको थिएन । जनताले दिएको त्यो साथ, सहयोग र सद्भावलाई उनले जीवनको ठूलो सम्पत्ति मानेका छन् ।

उनले भने– ‘प्रमुख पदमा पुगेपछि केही गर्छु भन्ने एउटा जोश त हुन्छ नि । चिलिमेमा हुँदा पनि १८ घण्टा काम गर्थेँ । यो प्रोजेक्ट ल्याउनुपर्छ, यसो गर्नुपर्छ भनेर लागिन्थ्यो । यहाँ आएपछि पनि फुर्सदै कहाँ छ र ? यति धेरै काम छ कि दस बाह्र हजार कर्मचारी छन् ।

यसको व्यवस्थापन अर्को पक्ष हो । नतिजा दिनु अर्को पक्ष हो फेरि । नतिजा नदिई त व्यवस्था गर्न सकिँदैन । वास्तवमा मेरो जीवनमा चिलिमेमा नहुँदा जसरी एक महिना रसुवालीले मलाई त्यही फिर्ता बोलाउनुपर्छ भनेर आन्दोलन नै गरे, लेख्नेले के–केसम्म लेखे भने गाई काटेर खुवाए, आन्दोलन गर्नलाई गुण्डा पठाए, कुलमानले भैँसी खुवाएर आन्दोलन गर्न लगाए भनेर पनि लेखे । मैले त्यो लेखाइमा विश्वास गर्ने पनि हैन, मैले गर्ने पनि हैन । मैले गर्नुपर्ने आवश्यकता पनि थिएन । त्यहाँका जनताले यसले राम्रो गरेको थियो, यो मान्छे नै चाहिन्छ भनेर महशुस गरेर केही समय यहाँ बस्नुपथ्र्यो भनेर आन्दोलन गरे । त्यो कुरा म यहाँ आएपछि पनि प्रमाणित गरेको छु ।’

रसुवाका केही व्यक्तिहरूले उनलाई भेटे र भने–‘हामीले जेका लागि आन्दोलन गरेका थियौँ, त्यसलाई पूरा गर्नुभयो, धेरै धेरै धन्यवाद छ, बधाई छ भन्थे । उनीहरूले विरोध त गरे तर तपाईंले देशकै लागि गरेर देखाइदिनुभयो ।’

उनले आफू चिलिमे जलविद्युत कम्पनीमा काम गर्दा त्यहाँका स्थानीयले देखाएको सद्भावलाई पनि स्मरण गरे । उनले भने– ‘चिलिमेमा हुँदा पनि काठमाडौंमा पत्रपत्रिकामा केके आए मलाई थाहा छैन, विभिन्न कोणबाट विभिन्न कुरा आए । चिलिमे कम्पनीबाट मलाई यता ल्याउँदा रसुवालीले एक महिनासम्म बन्द गरे । मैले केही नगरेको भए त रसुवा बन्द हुँदैनथ्यो होला । मैले त्यहाँ गर्नुपर्ने चिजहरू धेरै गरेको छु जस्तो लाग्छ । त्यहाँका स्थानीयलाई प्रोत्साहित कसरी गर्ने, रोजगारी कसरी दिने, काममा कसरी सहभागी गराउने भन्नेदेखि उनीहरूलाई कसरी बढीभन्दा बढी सहभागी बनाउने भन्नेमा ध्यान केन्द्रित गरेको थिएँ ।’

प्राधिकरणले यसपालिको तिहारका लागि एक साताअघि नै बैठक राखेर देशभरी नै यस्तो यस्तो गर्ने भनेर योजना बनाइसकेको छ । प्राधिकरणले आफ्ना मातहतका सबैतिर सर्कुलर गरिसकेको छ, सबै स्ट्यानबाई अवस्थामा छन् । कहाँ कहाँ ट्रान्सफर्मरमा तेल हाल्नुपर्ने, कहाँ कहाँ फिडरहरू निकाल्नुपर्ने, तार थप्नुपर्ने, कहाँ ट्रान्सफर्मर थप्नुपर्ने सबै कुरा गरिसकेको उनले बताए ।

अबको बाटो के ? अबको २० वर्षपछि पनि लोडसेडिङ नहुने

लोडसेडिङ त अन्त्य भयो तर यसलाई नै उनले अन्तिम सफलताका रूपमा लिएका छैनन् । यो त एउटा सामान्य प्रक्रियाका रूपमा लिएका छन् । उनको योजना ठूलो छ, दीर्घकालीन सोचका साथ उनी काम गरिहेका छन् ।

घिसिङले भने– ‘लोडसेडिङ त अब हुँदैन । तर अबको २० वर्षपछि पनि हुनुहँुदैन । २० वर्षपछि लोडसेडिङ नहुनका लागि अहिलेदेखि नै मैले काम गरेर जानुपर्छ । अहिले मैले आयोजनाहरू ल्याएँ, ट्रान्समिसन लाइन ल्याएँ, भौतिक पूर्वाधार बनाइदिए भने २० वर्षपछि पनि लोडसेडिङ हुँदैन नि । अहिले मैले कुनै प्रोजेक्ट ल्याइन, केही पनि गरिनँ अहिले चाहिँ हाई हाई गरेर भोलि जानासाथ त लोडसेडिङ भयो भने अप्ठ्यारो हुन्छ नि ।’


सम्बन्धित शिषर्कहरु