काठमाडौं । ‘निधारैमा लर्काएर सप्तरंगी टीको’ बोलको गीत विशेषत: नेपाली सांगीतिक क्षेत्रको सदावहार चर्चित गीतमध्येको एक हो।

कवि दिनेश अधिकारी यो गीतका लेखक हुन्। स्वर हेम लताको रहेको छ। गीतमा संगीत भने शम्भुजित बाँस्कोटाले भरेका हुन्। राजेन्द्र सलभको निर्देशनमा रहेको नेपाली चलचित्र ‘विजय पराजय’को यही भाइटीकोको दृश्यमा प्रयोग गरिएको ‘निधारमा लर्काएर सप्तरंगी टिका’ गीतले दाजुभाइ र दिदीबहिनीबीचको सुमधुर सम्बन्धको झल्को दिएको छ।

विगतदेखि मानिँदै आएको भाइटीकोको महत्त्वबारे वर्णन गरेको छ। कुनै पनि तडकभडक नगरी विशुद्ध पारिवारिक महत्त्व झल्कने यो गीत हरेक वर्ष तिहारको आगमनसँगै चर्चा चुलिने गर्छ। यो गीतका संगीतकार शम्भुजित बाँस्कोटा यो गीत संगीत गर्दाको पल सम्झना गर्छन्।

उनी भन्छन्, ‘मैले धेरै गीतहरूमा मेलोडी भरेको छु, दीपावली आउँदा जब म यो गीत सुन्छु, साँच्चै नि भावुक हुन्छु। किनकिन यो गीत सुन्दा राम्रो गीतमा संगीत भर्ने अवसर पाउने भाग्यमानी व्यक्ति हुँ कि भन्ने आभास हुन्छ।’ विजय पराजय फिल्मको ‘स्क्रिप्ट’ शैलेश आचार्य र ब्रजेश खनालले लेखेका हुन्।

स्क्रिप्टअनुसार तिहार गीत चाहिने भयो भन्दै पटकथाकारद्वयका एक शैलेश आचार्य एक दिन बाँस्कोटाको घरमा आएका सम्झन्छन् उनी। त्यसबेला धेरै गीतकारहरूसँग बाँस्कोटाले सहकार्य गरिसकेका थिए।

दिनेश अधिकारीले गीत लेख्न सक्छन् भन्ने लागेर उनले अधिकारीलाई यो गीत लेख्न लगाएको बताउँछन्। उनी भन्छन्, ‘दिनेशजीले गीत लेखेर दिएपछि यसको मेलोडी बडो ‘इन्जोय’ले भरेको हुँ। गीतमा शब्द पनि बडो कोमल र भावनात्मक छ।’

यो गीत मुम्बईमा रेकर्ड गरेको बताउँछन् उनी। उनले मुम्बइमा रेकर्ड गराउँदा त्यहाँका संगीतकारले पनि ज्यादै मनपराएको स्मरण गरे। यो गीतको विशेषता भनेको मौलिक भाइटीकोको महत्त्व देखाउन खोजिएको छ।    भिडियो हेर्नुहोस् :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस !