
चितवन, २८ कात्तिक । देशकै केन्द्र भाग चितवनमा रहेको भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश सुरु गरेको छ । गत पुसमा बसेको भरतपुर महानगरपालिकाको नगरसभाले गठन गरेको न्यायिक समितिले स्थानीय जनताको मुद्दाहरु हेर्ने गरेको भएपनि महानगरमा ईजलाश निर्माण गरिएको थिएन । अदालती प्रकृयामा पुग्दा पीडितले न्याय पाउन ढिलाई हुने तथा पीडित र पीडकबीच मनमुटाब कायम हुने कारणले न्यायिक समितिबाट न्याय सम्पादन हुँदा कुनै पक्षको पनि जित हार नहुने गरि न्याय सम्पादन गरिने महानगरले जनाएको छ ।
न्यायिक समितिमा परेको मुद्दामामिलालाई मेलमिलापमा जोड दिने तथा सर्वसाधारणलाई चाँडै न्याय दिने उद्देश्य सहित ईजलाशको निर्माण गरिएको नगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर महानगरपालिकामा गठन भएको न्यायिक इजलाशको संयोजकमा उपप्रमुख तथा दुई जना सदस्य रहेका छन् । न्यायिक समिति गठन भएपछि हालसम्म एक सय ३० वटा मुद्दा परेकोमा सहमति हुन नसकेका २० वटा सम्बन्ध विच्छेदका मुद्दालाई जिल्ला अदालत पठाइएको न्यायिक समिति संयोजक पार्वती शाहले बताइन् ।
महानगरमा दर्ता भएका मुद्दालाई सुरुमा सम्बन्धित वडाको स्थानीय मेलमिलाप समितिमा पठाउने र त्यहाँ समाधान हुन नसकेको मुज्ञा मात्रै महानगरपालिकाको जिम्मामा आउने गर्दछ ।