
सुर्खेत, २९ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारबाट उपेक्षित कर्णाली प्रदेशलाई सञ्चारको नमूना बनाउन राष्ट्रिय समाचार समिति(रासस)को अग्रणी भूमिका हुनुपर्ने बताउनुभएको छ । मुलुकको एक मात्र समाचार समिति राससको महत्व कर्णालीबाट देखाइने बताउँदै उहाँले यस सम्बन्धमा सँगै योजना बनाउन राससलाई आग्रह गर्नुभयो ।
राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ नेतृत्वको टोलीसँगको शिष्टाचार भेटघाटमा मुख्यमन्त्री शाहीले भन्नुभयो, “मानिसमा सकारात्मक दृष्टिकोण र सोच बनाउन राससको भूमिका महत्व हुन्छ, रासससँग मिलेर हामी यसै प्रदेशबाट सञ्चारको विकास गर्छाैँ, यसलाई हामी जुनसुकै सहयोग दिन्छौँ, रकम अभाव हुँदैन ।”
राससको भेटमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई मुलुकको नमूना प्रदेश निर्माणार्थ राससको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “सरकारको सूचनाको पहिलो हकदारका रुपमा हामीले राससलाई लिएका छौंँ”, कानूनमन्त्री भण्डारीले भन्नुभयो । उहाँले सञ्चार क्षेत्रमा अन्य प्रदेशभन्दा कर्णालीले धेरै बजेट विनियोजन गरेको जिकिर गर्नुभयो । आमसञ्चार प्रतिष्ठान गठन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको भौतिक संरचना निर्माण, ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ स्थापना, पत्रकार स्वास्थ्य बीमा कार्यक्रम र तालीलगायत कार्यक्रममा समेत जोड दिइएको बताउँदै उहाँले यही प्रदेशबाट आमसञ्चार प्रतिष्ठानमार्फत राससको सहकार्यममा पत्रकारलाई क्षमता अभिवृद्धिका लागि तालीम दिइने जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाही तथा आन्तरिक मामिलामन्त्री भण्डारीसँगको शिष्टाचार भेटघाटमा राससका अध्यक्ष श्यामलले राससलाई भौतिक रुपमा सघाउन आग्रह गर्नुभयो । “कर्णालीलाई हेर्ने दृष्टिकोण हामी आफैँले परिवर्तन गर्नु जरुरी छ,” अध्यक्ष श्यामलले भन्नुभयो, “कर्णालीबाटै अझ बढी काम गरेर राससले आफ्नो महत्व दिलाउने छ, प्रदेश सरकारलाई बलियो बनाउने विषयमा रासस क्रियाशील हुनेछ ।” उहाँले राससको भौतिक संरचना निर्माण तथा अन्य प्राविधिक उपकरणमा सहयोग पु¥याउन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । अध्यक्ष श्यामलले थप्नुभयो, “सरकारको पहिलो सूचना राससलाई जानुपर्दछ र मिडियाभित्रको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गरिनुपर्छ ।”
सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिल्वालले मुलुक सङ्घीय संरचनामा गइसकेका अवस्थामा रासस पनि त्यही ढाँचामा अघि बढेको बताउँदै राससको आफ्नै कार्यालय कर्णालीमा नभएकाले सघाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सरकारको नीति, कार्यक्रम तथा गतिविधिको प्रमुख सूचना प्रवाहकका रुपमा रासस निरन्तर लाग्ने उहाँको भनाइ थयो । (रासस) ः