
– टंक कुँवर –
मंसिर १ धनगढी ।
सुदूरपश्चिम प्रदेशमा सातौं राष्ट्रिय कर दिवस २०७५ भव्य रुपमा मनाईएको छ । समृद्ध नेपाल, सुखी नेपाल भन्ने मुल नाराका साथ आन्तरिक राजश्व कार्यालय धनगढी, कैलालीले आयोजित सातौं राष्ट्रिय कर दिवस २०७५ यहाँ भव्य रुपमा मनाईएको हो ।
दिवसको अवसरमा धनगढीस्थित कार्यालयदेखि बजार परिक्रमा गरिएको थियो । परिक्रम पश्चात आयोजित बृहत कार्यक्रम गर्दै करदाताहरुलाई सम्मान गरिएको थियो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारी र भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत इश्वरीप्रसाद अर्यालले संयूक्त रुपमा दिवसको उद्घाटन गरेका थिए ।
सो अवसरमा कार्यालयका प्रमुख कर अधिकृत अधिकारीले अझै पनि नागरिकलाई कर तिर्ने बारे शिक्षा नभएको गुनासो गरे । उनले ठुला व्यवसायी करको दायरामा आएपनि साना व्यवसायीहरुलाई करको दायरामा ल्याउन नसकिएको बताए । उनले कर तिर्ने बानीको विकास गर्न कर शिक्षासंगै सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यालयका कर अधिकृत काशीराम पौड्यालले कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को असोजसम्ममा ९४ करोड कर असुल गरिसकेको बताए । कार्यालयले तीन अर्व २४ करोड कर असुल गर्ने लक्ष्य राखेको छ । कार्यालयले मूल्यअभिवृद्धि र आय कर बढी असुल भइरहेको जनाएको छ । कार्यालयमा हालसम्म ४६ हजार करदाता दर्ता भएको जनाइएको छ । कर अधिकृत पौड्यालले भने ‘दर्ता भएका करदातामध्ये ५० प्रतिशतले मात्र नियमित कर तिर्ने गरेका छन ।’