चितवन, १ मङ्सिर : आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा आज यहाँ प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालय नारायणगढदेखि शुरु भएको प्रभातफेरी पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी हुँदै कर कार्यालय परिसरमा सभामा परिणत भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहनलाल प्रधान, उद्योग वाणिज्य सङ्घ रत्ननगरका उपाध्यक्ष भीमनारायण श्रेष्ठ, उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, च्याम्बर अफ कमर्शका अध्यक्ष दीर्घमान श्रेष्ठ, अडिटर्स एशोसिएशन अफ नेपालका अध्यक्ष देवीप्रसाद डल्लाकोटीलगायतले बोल्नुभएको थियो ।

कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजार ३७१ करदाता रहेका छन् । व्यक्तिगत पान नम्बर लिने ३२ हजार ६९५, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार ७३५ र अन्तःशुल्क इजाजत नवीकरण गरेका तीन हजार ४४३ रहेका छन् । कार्यालयले यस आर्थिक वर्षमा हालसम्म रु नौ अर्ब ४१ करोड राजश्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । यो लक्ष्यको ११४ प्रतिशत हो । चालू आवमा कार्यालयले रु २७ अर्ब ६१ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । कार्यालयले आजदेखि साताव्यापी कार्यक्रमको आयोजना गरी कर दिवस मनाउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !