बेझाड, पाल्पा, ३ मङ्सिर : मटेरी युथ युनियन क्लब रामपुर पाल्पाले तिहारका बेला देउसीभैलोबाट उठेको रकमले रामपुर नगरपालिकामा अध्ययनरत दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

रामपुर नगरपालिका– ५ को रामपुर आधारभूत मटेरी र ४ को कालिका आधारभूत विद्यालय देविस्थानमा अध्ययनरत गरीब तथा जेहेन्दार, दलित, विपन्न विद्यार्थीलाई आइतबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लबले तिहारमा देउसीभैलोबाट उठेको रकमबाट दुई विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई न्यानोका लागि जाडोको कपडा स्वीटर, कापी र कलम वितरण गरेको अध्यक्ष अमीर रानाले बताउनुभयो ।
क्लबले यस क्षेत्रमै नमूनाका रुपमा काम गरेको र अब वडाले पनि विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने तयारी गरेको वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली बताउनुभयो ।

तीन वर्ष अगाडि स्थापना भएको यस क्लबले समाजमा हुने विकृति विसङ्गति, लागुपदार्थ दुव्र्यसनी, वृक्षरोपण, सरसफाइलगायतका विभिन्न सामाजिक कार्यमा सक्रियरुपमा काम गर्दै आइरहेको क्लबका कोषाध्यक्ष कमल रानाले बताउनुभयो ।

जाडोको समयमा न्यानो स्वीटर तथा कापी र कलम पाएपछि निकै खुशी लागेको कालिका आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा पुष्पा आले बताउनुहुन्छ । क्लबले रामपुर आधारभूतका ३० जना र कालिका आधारभूतका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले क्लबले विद्यालयमा आएर शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यार्थीको पठनपाठनमा ठूलो हौसला मिलेको बताउँदै क्लबलाई धन्यवाद दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस !