काठमाडौं । सरकारले समाजवादको नारा लगाएको छ । स्वदेशमा नै वर्षेनी पाँच लाखलाई रोजगारी दिने सुन्दा मिठो लाग्ने नारा पनि अगाडि सारेको छ । तर कामको नाममा वरको सिन्को पर समेत सार्ने काम गरेको छैन । भनिएको छ सरकार दुई तिहाईको छ । तर काम भने त्रिशंकु संसद रहँदाको अवस्थाको भन्दा कमजोर छ । कुनै पनि गतिलो काम नगरेको भन्दै नागरिक तहमा सरकारप्रति वितृष्णा समेत पैदा भइसकेको छ । हामीलाई बहुमत दिनुस हामी गरेर देखाइदिन्छौ भन्ने नेताहरु समेत यतिखेर चुपचाप छन् ।

कम्युनिस्ट पार्टी भनिएको सरकारले आठ महिनाको अवधिमा नेपालीको हितका लागि भनेर आजसम्म कुनै गतिलो निर्णय गर्न सकेको छैन । पछिल्लो दिनमा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन । स्वदेशमा रोजगारी नपाएर बिदेशिएका नेपाली मध्ये हरेक महिना ५५ जनाको अकालमा ज्यान जाने गरेको डरलाग्दो तथ्यांक फेला परेको छ ।

सरकारले नै हालै सार्वजनिक गरेको एक विवरणमा वैदेशिक रोजगारीका लागि गएका नेपाली मध्ये मासिक रुपमा नै ५५ देखि ६० जनाको ज्यान जाने गरेको छ । यस आधारमा हेर्दा दैनिक दुई जनाको ज्यान गएको छ । रोजगारीको खोजीमा घर परिवार छोडेर विदेशिएका नेपाली कामदार वातावरणसँग अनुकूल हुन नसक्दा समेत जोखिममा पर्ने गरेका छन् ।

पछिल्लो एक दशकमा नेपाली कामदार विदेश जाने मात्रा समेत बढ्दै गएको छ । सरकारी तथ्यांकअनुसार करिब ४५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् भने भारतमा जाने कामदारको संख्या त्यसमा समेटिएको छैन । अवैध रुपमा विदेश गएका नेपालीको संख्या समेत ५ लाखको हाराहारीमा रहेको छ ।

नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान नदिदा अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । यस्तै सवारी दुर्घटना, अखाद्य खानपानको तथा स्वास्थ्य समस्याका कारण पनि ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दै गएको हो । मुख्य रूपमा खानपानको असन्तुलन, कामको चाप र आवश्यक आराम नपुग्दा उनीहरूमा मुटु, मिर्गौला र फोक्सोको समस्या बढेको र मृत्युको कारण बन्ने गरेको छ । नेपाली कामदार मृत्यको संख्या मलेसिया, साउदी अरब र कतारमा सबैभन्दा बढी पाइएको छ वैदैशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी समस्यामा फसेका कामदारको रोजगारदाता कम्पनीले समेत वास्था नगर्ने गरेको पाइएको छ । समस्याको निराकरण गर्न कामदारहरूलाई कार्यक्षेत्रमा कम्पनीबाट अनिवार्य अभिमुखीकरण हुनुपर्ने जरुरी भएपनि त्यसतर्फ कुनै ध्यान दिइएको छैन । नेपाली कामदारहरूले विदेशमा पुगेपछि सम्झौता गरिएकाभन्दा भिन्न काम समेत गर्नुपरेका कारण पनि समस्या बढेको बताइन्छ । तर सरकारले यस तर्फ ध्यान दिन कुनै पहल गरेको छैन ।
नेपाली कामदारको मृत्युको कारण व्यवस्थित रूपले केलाएर रोजगारदाता मुलुकसँग तलब र सुविधासँगै गुणस्तरीय स्वास्थ्यलाई प्राथमिकतामा राख्न ढिलाई भएपनि त्यसतर्फ कुनै पनि पहल नहुँदा समस्या बढेको छ । सरकारको पछिल्लो एक विवरणअनुसार पछिल्लो दश वर्षमा ६ हजार ७०० नेपाली कामदारले वैदेशिक रोजगारीमा ज्यान गुमाएका छन् ।

तीमध्ये झन्डै ११ सय जनाको कार्यक्षेत्र र सडक दुर्घटनाका कारण ज्यान गएको छ । यस्तै कामदारको मृत्यु विभिन्न रोगका कारण पनि भएको पाइएको छ । डाक्टरले दिने कागजातमा नियमित वा प्राकृतिक मृत्यु भनिएका अधिकांश घटनामा मृत्युको कारण पत्ता लगाउन नखोजी विनापरीक्षण नै त्यस्तो भनिएको समेत पाइएको छ ।

तनावसँग कसरी जुझ्ने वा नयाँ परिवेशमा स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने कुरा व्यावहारिक रूपमा नबुझ्दा समेत नेपाली परदेशमा अकालमा ज्यान गुमाउन बाध्य भएका हुन् । मलेसिया सरकारसँग श्रम सम्झौता गरेको भन्दै प्रचार गराएको भएपनि प्राविधिक विषयमा कुरा मिल्न सकेको छैन । सम्झौतालाई कमजोर तुल्याउन उनी आफै लागेको सरोकारवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !