काठमाडौं । छिमेकी बलियो, समृद्ध, सुखी भयो भने नाफा हुन्छ भन्ने सुनिन्छ । तर, हाम्रो हकमा त्यस्तो भएको पाइँदैन । भूपरिवेष्ठित मुलुृकलाई छिमेकीले माया गरेर राम्रो अवसर दिन्छ । हेरौँ, बोलिभिया र पेरुलाई । दक्षिण अमेरिकी मुलुक बोलिभिया भूपरिवेष्ठित छ र उसलाई पेरुले सधैँका लागि आफ्नो बन्दरगाहको एउटा हिस्सा उपभोग गर्न दिएको छ । पेरु भन्छ, ‘म आफू गरिवै छु । तिम्रोलागि पूर्वाधार बनाइदिन सक्दिनँ । समुन्द्रसम्म पुग्न पाउने तिम्रो अधिकार हो । त्यो म दिन्छु तर अरु बन्दोबस्त आफैं मिलाऊ’ अर्को उदाहरण छ, इथियोपियाको । पहिला समुन्द्रसम्म उसको पहुँच थियो । पछि संघीयतामा गयो र फुटेर अर्को देश बन्यो इरिट्रिया ।
समुन्द्रजति सबै इरिट्रियासँग जोडिने भएपछि इथियोपिया भूपरिवेष्ठित बन्न पुग्यो । अफ्रिकी छिमेकी र पश्चिमाहरुले पनि उसलाई पेल्न र हेप्न थाले । त्यसपछि डिभुटी नामक देशले समुन्द्रसम्म पुग्ने अधिकार दियो, सधैँका लागि । तर, हाम्रो छिमेकीले पाँच–सात वर्षको मिति तोकेर ट्रेड एण्ड ट्रान्जिट ट्रिटी गर्छ, विशाखापट्टनममा बन्दरगाह उपभोग गर्न दिन्छु भन्छ । तर, त्यहाँ नेपालबाट खटाइएको कर्मचारीलाई अफिस खोल्न दिँदैन । पछिल्लोपटक भारतसँग व्यापार तथा पारवहन सन्धि २००९ मा भएको हो । त्यसको अवधी २०२० सम्म बाँकी छ । त्यसपछि के बखेडा निस्कन्छ ? भन्न सकिँदैन । पश्चिमतर्फ हवाई नाका खोल्न नदिएको कुरा त छँदैछ ।