नेपाल कम्युनिस्ट पार्टी आजवाट पाँचौ बर्षमा प्रवेश गरेकाे उपलक्षामा महासचिव विप्लवले पार्टी पुनर्गठन दिवसको अवसरमा आज बधाई तथा शुभ–कामना सन्देश दिएका छन । २०७१ साल मङ्सिर ८ गते मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर विप्लव, प्रकाण्ड र कन्चनले नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरेका थिए ।

अाज बिज्ञप्ती जारी गरी महासचिव विप्लवले क्रान्तिकारी पार्टी पुनर्गठन भएको ४ वर्ष पूरा भएर ५ वर्षमा प्रवेश गरेको अवसरमा नेपालका क्रान्तिकारी, वामपन्थी, देशभक्त, जनवादी सबै शक्तिहरूलगायत पार्टीका नेता–कार्यकर्ता, नेपाली क्रान्तिका मुख्य आधार नेपाली जनता, न्यायका क्षेत्रमा काम गरिराख्नुभएका मानवअधिकारवादी, कानुनविद्, पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न गर्नुभएकाे हाे ।

बिज्ञप्तीमा भनिएकाे छ, हामीले विगतमा भन्दै आएको र अहिले पनि भन्ने कुरा के हो भने यो दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो हुनेवाला छैन । बरु राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रतिदिन कमजोर र कष्टकर बन्दै जानेछ । त्यसैले यो संसदीय व्यवस्थाअन्तर्गत बनेको संविधान, त्यही संविधानले निर्देश गरेअनुसार भएका सबै तहका चुनावहरू खारेज र बहिष्कार गरेका थियौँ । चुनावपछि सरकार बनेको यो १० महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन् । ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको छ । जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगिराखेका छन् । यहाँ भनिराख्नु पर्दैन, राष्ट्रियता, जनतन्त्र र जनजीविका त इतिहासकै गम्भीर घुम्तीमा पुगेका छन् । साथै महिला हिंसा, हत्या र बलात्कार चरम छन् । महँगी, भ्रष्टाचार, कालोबजारीले नयाँ इतिहास बनाएको छ । कहाँसम्म भने हाम्रो देशका नदी एउटा देशले अर्कैलाई बेचिदिन्छ । हत्या, हिंसा, लुटका कारण देश र जनता असुरक्षित छन् ।

उहाँले भन्नुभएकाे छ, त्यसैले अहिले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेका छन् । त्यो वैकल्पिक राज्यप्रणाली वैज्ञानिक समाजवादी व्यवस्था हो । यसै सन्दर्भमा उक्त वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी अहोरात्र खटिराखेको र मेहनत मात्र गरेको छैन, जनतासँग एकाकार भएर अभियानमा लामबद्ध छ । यो महान् अभियानमा लामबद्ध हुन, आवश्यक सहयोग, समर्थन र ऐक्यबद्धता व्यक्त गर्न न्याय र समानताका पक्षमा उभिनुहुने सबैमा आग्रह गर्दछौँ ।”

उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति हुने निर्णय पनि गरेको थियो । २०७१ साल पुसमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन गर्नुका साथै २०७३ फागुनमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेपाली क्रान्तिका आधारहरू तयार पार्नुका साथै दर्शनमा पनि थप विकास गरेको जनाएको थियो । नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !