– टंक कुँवर –
धनगढी । कैलाली उद्योग वाणिज्य संघले मंसिर महिनामै निर्वाचन पुरा गर्ने तयारी गरेको छ ।
सदस्यता विवादमा अल्झेर एक वर्षदेखि निर्वाचन गर्न नसकेकोको संघले मंसिरमा निर्वाचन सक्याएर पुषमा सुदूरपश्चिम महोत्सव आयोजना गर्ने तयारी गरेको जनाएको छ । संघको कार्य समितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनपछि नै महोत्सव गर्ने जनाएको हो ।
केहि समययता निर्वाचन पहिले कि महोत्सव भन्ने विवादमा अल्झिएको संघले पहिले निर्वाचन, त्यसपछि महोत्सव गर्ने निर्णयमा पुगेको संघका अध्यक्ष शंकर बोगटीले बताए । उनले वस्तुगत समिति, पूर्वअध्यक्ष र सल्लाहकार तथा राजनीतिक दलहरुसंगको छलफलपछि पहिले निर्वाचन गर्ने निर्णयमा पुगेको बताए ।
सदस्यता छानविन समितिले सात दिनभित्र सदस्यताको छिनोफानो गरी विवरण दिन काम थालेपछि निर्वाचन तत्काल गर्न सकिने वातावरण बनेको अध्यक्ष बोगटीले बताए । उनले मंसिर २२ गतेभित्र निर्वाचन गरिसक्ने तयारीमा जुटेको बताए । उनले नयाँ कार्यसमितिले पुषको पहिलो सातामै सुदूरपश्चिम महोत्सव आयोजना गर्ने गरी आन्तरिक तयारी पनि भइरहेको बताए ।

गत बैशाख २२ गते निर्वाचन घोषणा गरेको संघमा गैरव्यवसायीलाई समेत सदस्यता दिएको विवाद भएको थियो । सो विवादका कारण अदालतमा मुद्दा परेको थियो । अदालतले सदस्यता छानविन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय कैलालीलाई दिएको थियो । सोही अनुसार जिल्ला प्रशासनले उद्योग वाणिज्य संघको सदस्यता छानविन गरिरहेको छ ।
सदस्यता विवादसंगै केहि दिनयता सुदूरपश्चिम महोत्सव आयोजना गर्ने विषयमा समेत संघका पदाधिकारीबीच विवाद भइरहेको थियो । संघले विगत १२ वर्षदेखि यस प्रदेशको व्यापार, व्यवसाय, उद्योग, पर्यटनको प्रबद्र्धनका लागि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !