चितवन । पूर्व पश्चिम राजमार्गमा तीव्र गतिमा ट्रिपर सञ्चालन गर्दा दुर्घटना बढेको निस्कर्ष सहित चितवनमा करिब एक वर्ष अगाडि गोन्द्रङदेखि पूर्व टाइमकार्ड लागू गरिएको थियो ।
भरतपुर महानरपालिकाको गोन्द्राङबाट मकवानपुरको मनहरीसम्मको स्थानमा ट्रिपरका लागि टाइमकार्ड लागू गर्दा दुर्घटनामा कमी आएको छ । तीव्र गतिमा ट्रिपर कुदाउँदा दुर्घटना बढेको भन्दै स्थानीय ट्रिपर सञ्चालनमा रोक लगाउन माग गरेपछि सो क्षेत्रमा टाइम कार्डको व्यवस्था गरिएको थियो । अन्य स्थानमा तीव्र गतिमा सञ्चालन हुने ट्रिपरहरु पूर्व पश्चिम राजमार्गमा पर्ने चितवनको भरतपुरदेखि मकवानपुरको मनहरीसम्मको भागमा गति सिमित गराउँछन् ।
ट्रिपरको गति नियन्त्रण गर्न टाइमकार्ड लागू भएपछि यस क्षेत्रमा दुर्घटनाको दर समेत घटेको छ । गत वर्ष कात्तिकमा टाइमकार्ड लागू भएपछि त्यस क्षेत्रमा ट्रिपरका कारण दुई वटा मात्रै दुर्घटना भएका छन् । यस अगाडि २०७३ कात्तिकदेखि २०७४ असोजम्म ट्रिपरका कारण सात वटा दुर्घटना भएका थिए ।
भरतपुरबाट समय लेखाएर हिँडेको ट्रिपरले चितवनको भण्डारा र मकवानपुरको मनहरीमा समय जाँच गराउनु पर्छ । ट्रिपरका लागि गोन्द्राङदेखि भण्डारासम्म प्रतिघण्टा ३५ किलो मिटरको गति कायम गरिएको छ भने भण्डारादेखि मनहरिसम्म प्रति घण्टा ४० किलोमिटर कुद् पाउने गरि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । धेरै टिप सामान बोक्ने तथा अतिरिक्त पैसाका लागि ट्रिपर ड्राइभरले प्रतिस्पर्धा गर्दै तीव्र गतिमा सवारी साधन कुदाउने गर्दथे ।
टाइम कार्ड लागू गर्दा ढुक्कसँग सवारी साधन चलाउने अवस्था सिर्जना भएको ट्रिपर चालकहरुको भनाइ छ । सरकारले यातायात समिति खारेजी गरेपछि ट्रिपरमा समय लेख्ने कार्डको अभावमा कापीमा नै समय लेख्दै छाप लगाउने गरिएको छ । पूर्व पश्चिम राजमार्गमा चल्ने ट्रिपरलाई लागू गरिएको टाइम कार्ड अन्य सवारी साधनलाई समेत लगाउन सकियो भने दुर्घटनाको दरमा कमी ल्याउन सकिन्छ ।