चितवन । विपन्न समुदायमा हरेक वर्ष जाडो महिना सुरू भएपछि एउटै चिन्ताले पिरोल्ने गर्छ, त्यो हो जाडोमा न्यानो कपडाको अभाव । यो वर्ष पनि यो समुदायलाई कसरी जाडो कटाउने भन्ने चिन्ता दोहोरिएको छ ।
आफूसँग न्यानो कपडा किन्ने हैसियत नहुँदा हरेक वर्ष दाताको पर्खाइमा हुन्छन्, जुन समस्या यो वर्ष पनि उस्तै छ ।
चिसोका कारण सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित छन् । विपन्न बस्तीका लागि हरेक वर्ष जाडो कटाउन आगोकै भरमा बस्नु परेको कालिका नगरपालिका १०, सिद्धिका भरत चेपाङले बताए । ‘विपन्न बस्तीमा हरेक वर्ष आगोकै भरमा रात बिताउन बाध्य छन्’, उनले भने, ‘न जीउमा लगाउने कपडा छ न त राति ओढ्ने नै ।’
दाताहरुबाट हरेक वर्ष वितरण हुँदै आए पनि यो समस्या प्रत्येक वर्ष दोहोरिरहेको कालिका नगरपालिका ११ की शान्ति चेपाङले बताइन् । साना–साना बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाउनै समस्या भएको उनले सुनाइन् । ‘चिसो सुरू भएसँगै हामीलाई चिन्ता पनि सुरू भएको छ’, उनले भनिन्, ‘बूढाबूढी र साना केटाकेटीलाई जाडोबाट बचाउन हरेक वर्ष कष्ट सहनुपर्छ ।’ त्यसैले, हरेक वर्ष दाताकै भरमा बस्नु परेको उनको भनाइ छ ।
सिद्धि स्वास्थ्यचौकीका सिनियर अहेब मोहनबहादुर साउदका अनुसार चिसो बढ्दै जाँदा निमोनिया र रूघाखोकीको समस्या लिएर आउने बिरामीको संख्यासमेत बढ्दै गएको छ । स्वास्थ्यचौकीमा अहिले पनि हरेक दिन १५ देखि २० जनासम्म बिरामी चिसोको समस्या लिएर आउने गरेको उनले बताए ।
‘धेरैजसो वृद्धवृद्धा र बालबालिकामा बढी समस्या देखिन्छ’, उनले भने, ‘न्यानो कपडा अभावकै कारण उनीहरु चिसोबाट जोगिन नसकेका हुन् ।’ दूरी टाढा हुँदा कतिपय बिरामी स्वास्थ्यचौकीसम्म पनि आउन नसक्ने उनले बताए ।
‘पहिलेको तुलनामा स्वास्थ्यचौकी आउने बिरामी बढ्दै गएका छन्’, उनले भने, ‘विपन्न बस्तीमा पनि स्वास्थ्यचौकी जानुपर्छ भन्ने चेत पलाउँदै गएको छ, तैपनि कतिपय गाउँबाट स्वास्थ्यचौकी आउनै दिनभरि पैदल हिँड्नुपर्ने हुँदा उनीहरु चाहेर पनि आउन सकेका छैनन् ।’ उनका अनुसार सबैभन्दा टाढा सैपाम गाउँ पर्छ । सिद्धि स्वास्थ्य चौकीबाट सैपाम पुग्न एकोहोरो बाटोमात्रै कम्तीमा पनि पाँच घन्टा हिँड्नुपर्ने उनले बताए ।
तैपनि, नगरपालिकाले तोकेको समयमा खोप र गाउँघर क्लिनिकलाई नियमित गराइरहेको उनले बताए । उनका अनुसार स्थानीय तह आइसकेपछि हरेक महिना तीन दिन गाउँघर क्लिनिक र दुई दिन खोप सेवा लिएर स्वास्थ्यकर्मीहरु गाउँ चहार्ने गरेका छन् ।
सिद्धि स्वास्थ्यचौकीको कार्यक्षेत्रभित्र साविकको सिद्धि गाविस अर्थात् हालको कालिका नगरपालिका वडा नं १० र ११ पर्छ । स्थानीय सरकारले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरेर गाउँगाउँसम्म स्वास्थ्य परीक्षण र जनचेतनामूलक कार्यक्रम लैजान सके अझ राम्रो हुने उनको भनाइ छ ।