एचआइभीविरुद्ध सत्र वर्षदेखि लड्दै चितवनकी चेली

 

नारायण अधिकारी

चितवन।  सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउनुहुन्छ । एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा सञ्चार माध्यमको अगाडि खुलेर आफू सङ्क्रमित भएको घोषणा गर्ने दीक्षा यतिबेला पनि सङ्क्रमण रोक्न र भैसकेकालाई प्रेरणाको जीवन बाच्न क्रियाशील हुनुहुन्छ ।
भरतपुर महानगरपालिका–१२ निवासी रिमालमा विसं २०५८ मा एचआइभी सङ्क्रमण देखिएपछिका उहाँको जीवन निकै उतारचढावमा बित्दै आएका छन् । समाजलाई एचआइभी सङ्क्रमणको बारेमा बुझाउनेदेखि हुन नदिन र भैसकेकालाई सहज जीवनयापनका लागि उहाँको यात्रा जारी छ ।

लागुऔषधमा लिप्त श्रीमान्बाट सङ्क्रमित हुनुभएकी दीक्षाको सन्तान पनि सङ्क्रमणबाट मृत्यु भएपछि श्रीमान्बाट अलग जीवन बिताउँदै आउनु भएकी उहाँ यतिबेला सङ्क्रमित भएर पनि स्वस्थ देखिनु हुन्छ ।

दैनिक एकपटक एन्टीरेक्टो भाइरल ९एआरभि० प्रयोग गर्दै आउनु भएकी दीक्षाकै कारण सङ्क्रमण भएका समुदायमा खुल्न थाले । उहाँले भन्नुभया,े “मेरो जीवन निकै कष्टकर बितेर यहाँसम्म आयो । अरु सङ्क्रमितले यो कष्ट व्यहोर्न नपरोस् भनेर सङ्घर्ष गर्दै आएकी छु ।”

उहाँले आफू सङ्क्रमित भएपछि चितवन सक्रिय समूहको नामबाट गैरसरकारी संस्था गठन गर्नुभयो । समुदायलाई एचआइभीका बारेमा बुझाउन थाल्नुभयो । यसका लागि उहाँ पर्चा बोकेर सडकमा पनि पुग्नुभयो ।

उहाँले स्मरण गर्नुभयो “सडकमा मान्छेहरूले सोध्थे तपाइँहरू नि भारतको बम्बइबाट फर्केको हो रु” यस्ता प्रश्न आउन थालेपछि उहाँका साथी पर्चा टाँस्न जान हिच्किचाउन थाले । उहाँहरुको अभियान जारी नै रह्यो । पछि उहाँहरुले लोकदोहोरी कार्यक्रम गरेर संस्थाका लागि पैसा जम्मा गर्न गर्नुभयो । “गाउँका मानिस सङ्क्रमितका कार्यक्रम हेर्न आउँदैनौ भन्थे । हामी घरघरमै गएर बुझाउने प्रयास गथ्र्यौं” उहाँले सङ्घर्षका दिन सम्झँदै भन्नुभयो ।

अभियानका क्रममा खाजा खान रेष्टुरेण्टमा बस्दा सँगैको टेबुलमा बसेकाहरुले लामखुट्टेले टोकेर पनि सर्न सक्छ भनेर उठ्ने गरेको उहाँले बताउनुभयो । उपचार गर्न अस्पताल पुग्दा चिकित्सकले उपचार नगर्ने, बसमा यात्रा गर्दा सँगै बस्न अरु नमान्ने जस्ता विभेद सहनु परेको रिमाल बताउनुहुन्छ ।

सबै सङ्घर्षसँगै समाज र विश्वले उहाँलाई सम्झेको छ । सङ्क्रमितको हौसला बढाउन सन् २००५ मा ‘मिस एचआइभी स्टिगमा फ्री’ प्रतिस्पर्धा आयोजना गरियो । एचआइभी सङ्क्रमित कम छैनन्, उनीहरूले केही गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा आठ जना सहभागी भएका थिए । उपाधि दीक्षाले नै जित्नुभयो ।

उहाँको संस्थाको नाम दुई वर्ष अघिदेखि चितवन सक्रिय महिला प्रतिष्ठान भनेर संशोधन गरिएको छ । सन् २०१६ मा १० हजार अमेरिकन डलर राशिको अन्तर्राष्ट्रिय रेड रिभन अवार्ड जितेपछि उहाँ अन्तर्राष्ट्रिय जगतमा पनि चिनिनु भएको छ ।

रिमालले यसअघि १५ देशमा एचआइभी सङ्क्रमितको ‘केस स्टडी’ पुरस्कारसमेत पाउनु भएको छ । उहाँको विषयमा तयार गरिएको वृत्तचित्र सिङ्गापुरमा गएर देखाउने अवसर पनि रिमालले पाउनु भएको छ ।

समुदायले सहयोग गरेमा अरु सरह सङ्क्रमितहरु बाँच्न सक्ने उहाँको भनाइ छ । “मुख्य रुपमा सङ्क्रमितहरुमा आत्मबल हुनुपर्छ, अरुभन्दा स्वस्थ भएर हिड्न सकिन्छ” उहाँले भन्नुभयो ।

उहाँकै नेतृत्वमा एचआइभी सङ्क्रमित बच्चाका लागि जिल्लामा साङ्गीतिक कार्यक्रम गरी रु १३ लाख सङ्कलन गरेर उनीहरुको पालनपोषणमा खर्च गरिदै आएको छ । यससँगै देशका विभिन्न जिल्लाका सङ्क्रमितका लागि रिमालको संस्थाले काम गर्दै आएको छ ।


सम्बन्धित शिषर्कहरु