
चितवन । भरतपुर महानगरपालिका ११ गणेशस्थानमा निर्माण गर्न लागिएको गणेशधामको गुरुयोजना (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुरको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गर्न तिब्र रुपमा गुरुयोजना निर्माणको काम भइरहेको हो ।
गुरुयोजना निर्माणको जिम्मा पाएको काठमाडौंको आरएन आर इन्जिनियरिङ्ग कन्सलटेन्सीका प्रतिनिधी र स्थानिय सरोकारवाला विच शनिवार गुरुयोजनाका बिषयमा छलफल भएको छ । गुरुयोजनामा थपघट गर्ने बिषयमा छलफल केन्द्रित भएको थियो । कन्सलटेन्सीका प्रमुख राजन सुवालले गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै सबैको सुझाब सल्लाहा अनुसार परिमार्जन गरिने बताए । उनले गणेश धाममा नेपालकै सबैभन्दा ठूलो गणेशको मूर्ति निर्माण गर्ने गरि गुरुयोजना बनाइएको जानकारी दिए । महायज्ञ अघिनै गुरुयोजनाले पूर्णता पाउने सुवालले बताए ।
गणेश धाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सवको आयोजना गरिएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तिब्रताका साथ काम गरिरहेको धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव आयोजक मूल समारोहका महासचिव रविन्द्र बरालले जानकारी दिए ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । मन्दिर क्षेत्रको सम्वर्द्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । ‘ डीपीआरको काम सकेर महायज्ञ पश्चात फेजवाइज निर्माणको चरणमा जाने छौं’ अध्यक्ष चुकेले भने, महायज्ञबाट उठ्ने २० करोड, अन्य दाताहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा देशकै नमूना धामका रुपका विकास गछौं ।’
चितवन २ का प्रदेश सांसद विजय सुवेदीले गणेशधाम चितवनको प्रतिष्ठासँग जोडिएकाले केही बर्षभित्रै निर्माण सम्पन्न गरिने बताए । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ विगाहा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ विगाहामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश,शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।