
चितवन । एन आई सी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । आज मङ्सिर १६ गते बसेको बैकको ३ सय ७९ औं सञ्चालक समितिको बैठकले बैंककै का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई बढुवा गर्दै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।
न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका छन् । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत रहेका छन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूलाई संचालक समितिको कार्यकक्षमा आजै बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालज्यूले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
सो अवसरमा बोल्दै नववियुक्त प्रमुख कार्यकारी अधिकृत श्री न्यौपानेज्यूले बैंकका समस्त आदरणीय ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेसा प्रतिबद्ध रहने प्रण गरेका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४ लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैकाका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिए ।