राजेन्द्र आचार्य
चितवन । चेपाङको जीवन स्तर सुधारको लागि चितवनको सिद्धिमा सुरु गरिएको पुरुको विकास मोडल प्रभावकारी बन्दै गएको छ । चेपाङ समुदायलाई आफैबाट आयआर्जनसंगै आफ्नो जीवनयापनमा समेत सुधार गर्न तीन बर्ष अघि पेरुको विकास मोडल यहाँ सुरु गरिएको थियो । घरदेखि नै सरसफाई हुँदै आयआर्जनमा समेत अब्बल बनाउन पेरुको मोडल सफल सावित भएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए ।
यतिबेला सोही मोडल अपनाएपछि आफ्नो घर चिटिक्क पारे वापन चेपाङहरु पुरस्कृत हुन थालेका छन । अन्तर घर प्रतियोगिता गर्दै चेपाङहरुको जीवनयापनमा परिर्वतन ल्याउन सपना भिलेन सोसियल इम्प्याक्टले स्थानीय सरकारको रुपमा रहेको कालिका नगरपालिकाको सहकार्यमा विकास मोडल थालनी गरेको थियो ।
नगरपालिकाको वडा नं १० र ११ मा पर्ने सिद्धिका चेपाङहरुको १५ वटा समुह बनाइ विभिन्न प्रतियोगिता गर्दै आफुहरुले चेपाङको जीवन स्तरमा परिर्वतन ल्याउन सफल भएको इम्प्याक्टका अध्यक्ष धु्रब गिरीले बताए । घर सुधार गरेर नगद पुरस्कार पाउदा चेपाङ समुदाय खुसी देखिएका थिए ।
प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले यहाँका ७५ घरधुरीलाई शनिवार नगद पुरस्कार वितरण गरेको हो । चेपाङको जीवन स्तर सुधार गर्न इम्प्याक्टले तीन बर्षे परियोजना सुरु गरेको थियो । इम्प्याक्टले अन्तर घर, अन्तर विद्यालय, अन्तर टोल, अन्तर स्वास्थ्यकर्मी,अन्तर विजेत,अन्तर निर्णायक प्रतियोगिता गरी चेपाङहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने सिद्धिका १५ वटा समुहका ७५ घरधुरीलाई अन्तर घर प्रतियोगिता मार्फत पुरस्कार वितरण गरिएको हो ।
प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १२ हजार, तृतीय हुनेले १० हजार, चौथो हुनेले ७ हजार र पाँचौ हुनेले ५ हजार नगद पुरस्कार प्रास्त गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए ।
पुरस्कार प्राप्त गर्नु अधि चेपाङहरुले अथक प्रयास गरी आफ्नो जीवन शैलीमा सुधार गरेका छन । घर चिटिक्कको बनाएका छन । सुधारिएको चुलो,शौचालय प्रयोग गरेका छन ।
करेशाबारी बनाएर खेति गरेका छन । अन्तर टोल प्रतियोगितामा देउजर आमा समुह प्रथम, निबुवाटार आमा समुह द्धितीय र मजवाङ आमा समुह तृत्य भएका छन ।
उनीहरुले क्रमस ८५ हजार, ६५ हजार र ५० हजार नगद पुरस्कार पाएका छन ।
अन्तर विद्यालय प्रतियोगिता अन्तर्गत राष्ट्रिय आधारभूत विद्यालय दक्षिणकाली प्रथम, राष्ट्रिय आधारभूत विद्यालय देउजर द्धितीय र राष्ट्रिय आधारभूत विद्यालय दौतेस तृतीय भएका छन । ती विद्यालयहरुले क्रमस ८५ हजार, ६५ हजार र ५० हजार नगद पुरस्कार पाएका छन ।
अन्तर स्वास्थ्यकर्मी प्रतियोगितामा दिलकुमारी चेपाङ प्रथम भइ १२ हजार र निमा प्रजा द्धितीय भइ १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन ।
अन्तर विजेता प्रतियोगितामा पाँच जना र अन्तर निर्णायक प्रतियोगितामा पाँच जनालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष दिल बहादुर गुरुङ,वडा नं ११ का वडा अध्यक्ष दामाराम चेपाङ,चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,मजवाङ माविका अध्यक्ष रमेश तामाङ, प्रधाानाध्यापक देवकुमार बस्नेत, इम्प्याक्टका कार्यक्रम संयोजक रिकेश लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा आधुनिक गायक रमेशराज भट्टराई र लोक गायक नेत्र जी पन्तले गीत प्रस्तुत गरेका थिए ।