स्थानीय निकायको चुनाव पछिका दिनहरुमा जनप्रतिनिधिहरुले के कस्ता कामहरु गर्दैछन्, चुनाव भएको करिव डेढ वर्ष पुगेको छ, उपलब्धी के छ र जनताका उजुरी गुनासा स्थानीय निकायको न्यायिक समितिले हेर्ने गरेको छ । जनताका उजुरीलाई न्यायिक समितिले कार्य सम्पादन कसरी गर्दैछ र यो समितिले जनचाहना अनुसारको काम गरेको छ या छैन भन्ने विषयमा गोदावरी नगरपालिकाका नगर उप प्रमुख एवं न्यायिक समितिका संयोजक रत्ना कडायतसँग समावेशी अनलाइनका लागि टंक कुँवरले गरेको कुराकानीको सारसंक्षेप ः
१. तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ, समितिको कार्यसम्पादन कसरी गरिराख्नु भएको छ ?
भाद्रको पहिलो नगरसभाबाट न्यायिक समितिको गठन गरेका हौँ । यसको म संयोजक भइसकेपछि दिएका उजुरी माथि दुईटै पक्षलाई बोेलाई गहन छलफल गरी मेलमिलापको माध्यमबाट सहमति तिर लग्ने गरेका छौँ र अहिले हामी यसै किसिमले कार्यसम्पादनमा अग्रसर छौँ । स्थानीय सरकार सञ्चान ऐन २०७४ को ४७ (१) बमोजिम आउने जति पनि उजुरीहरु छन् न्यायिक समितिले हेर्ने गरेको छ र सोही अनुरुप कार्य सम्पादनमा लाग्ने गरेका छौँ भने बाकी ४७ को दफा (२) अन्तरगत आउने जति पनि उजुरी आउने गरेका छन त्यो हामीले हेर्ने गरेका छैनौँ त्यो चाहिँ मेलमिलापकर्ताबाट कार्य सम्पादन भैरहेको छ ।
२. गोदावरी नगरपालिकामा कस्ता खालका उजुरी आउने गरेका छन् ?
बढी जसो सम्बन्ध विच्छेद, गालीगलौच, सीमाना विवाद र लेनदेन अंशबण्डाका उजुरी आएका छन् । यस मध्ये छुट्टै प्रकृतिको उद्योग सम्बन्धिको उजुरी आएको थियो त्यसमा पनि न्यायिक समितिले बहस र छलफल गराई सहमतिको बाटो तिर लिन कोसिस ग¥यौँ । तर यस्तो उजुरी न्यायिक समितिको अधिकार क्षेत्र भित्र पर्दैन तरपनि न्यायिक समितिको भरौसा मानेर त्यो उजुरी हामी कहाँ आएको हो भन्ने मलाई लागेको छ ।
३. अहिलेसम्म कति उजुरी परे र कति मेलमिलाप गर्नु भएको छ ?
अहिलेसम्म ६३ वटा उजुरी यस नगरपालिकामा आएका थिए । जस मध्ये ४६ वटा उजुरी माथि पटक–पटक म्याद थपाएर पीडित पक्षलाई बोलाई छलफल गरी मेलमिलाप गराएका छौँ । आ.व.०७५÷०७६ मा मात्रै २८ वटा उजुरी परेका थिए जसमध्ये १५ वटा उजुरी माथि बहस छलफल गरी मेलमिलाप गराएका छौँ भने बाँकी प्रकृयामा छन् ।
४. जनताको उजुरीको मेलमिलाप जनपक्षीय हुन्छ त ?
होइन कस्तो कुरा गर्नु भएको ? हामी जनप्रतिनिधि भएर आइसकेपछि जनपक्षीय काम नगरे हामीलाई जनताले त्यत्तिकै नै सरापी हाल्छन । मेरो हातबाट मेलमिलापको सवालमा गल्ती हुन्न । मेलमिलाप गराउँदा दुईटै पक्ष सन्तुष्ट हुन आवश्यक छ । समितिमा आईसके पछि दुईटै पक्ष सन्तुष्ट हुन नसके त्यो मेलमिलाप हुन सक्दैन् । अहिलेसम्म मैले जनताका उजुरी माथि बहस र छलफल गराउँदा दुईटै पक्ष नै सन्तुष्ट भएर गएका छन् । मनमुटाब कसैको पनि भएको देखेको छैन । जहाँसम्म जन आकांक्षा र जनपक्षीय काम गरेको छु भन्ने मलाई लागेको छ ।
५. काम गर्दा समस्या पनि त होलान ?
पहिलो वर्ष केही समस्या थियो तर सिकाइबाट यो वर्ष सहज हुने गरेको छ । तर समस्या छैन भन्ने हैन अझैँ पनि केही समस्या छ । जनताका उजुरी माथि छलफल गराउँदा ठाउँको अभाव हुने गरेको छ । हामीले न्यायिक सम्पादन गर्न धेरै सुधार गर्नु पर्ने देखिएको छ ।
६. आगामी योजना के छन् ?
हाम्रो आगामी योजनामा मेलमिलाप कर्तालाई पुनर्ताजगी तालिम दिने रहेको छ । मेलमिलाप कर्ताहरुका लागि ५ वटा केन्द्र स्थापना गरिने योजना छ । र सुचिकृत गरेका मेलमिलाप कर्तालाई ४८ घण्टे तालिम दिने योजना रहेको छ । जसबाट मेलमिलाप गराउँदा जनपक्षीय हुन्छ । यो समितिलाई प्रभावकारी बनाउन र समिति भित्र भएका कामको लिष्ट पनि बाहिर ल्याउने योजनामा अगाडि बढिरहेका छौँ ।

७. तपाई उप प्रमुख पनि हुनुहुन्छ गोदावरी नगरपालिकामा भएका महत्वपूर्ण काम केही छन् ?
सवै वडाहरुमा दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम दिने गरेका छौँ । जस्तै सिलाई कटाई, ढाका टोपी, तरकारी खेती जस्ता थुपै्र कामहरु वडाहरुमा दिईरहेका छौँ । यस नगरपालिकाको वडा नं. ४ मा ढाका टोपी बुनेर १२ जना महिला दिदिबहिनीहरु आत्मनिर्भर भएका छन् । हामीले स्वास्थ्य स्वयमसेविकाको कामको मूल्यांकन गर्दै जनही बार्षिक १२ हजार प्रोत्साहन भत्ता दिने गरेका छौँ जसबाट उनीहरुलाई थप काम गर्ने हौसला बढेको छ । त्यसै गरी दुई वडा बिकट पहाडी क्षेत्रमा छन् । त्यो क्षेत्रमा हामीले सहरी स्वास्थ्य केन्द्र स्थापना गरी त्यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा पहँुच दिन सफल भएका छौँ र एक घर पाँच बालीको अवधारणा (योजना) ल्याएर काम गरेका छौँ । यस क्षेत्रमा बसोबास गर्ने एच.आई.भी. संक्रमित बादी समुदाय, मुक्त कमैया, दलित, एकल महिला,जेष्ठ नागरिकको जीवनस्तर सुधार्न र आत्म निर्भर बनाउन बजेट विनियोजन गरेका छौँ । यो वर्ष पनि थुप्रै जनपक्षीय कामको योजना ल्याएका छौँ सोही अनुरुप काम अगाडि बढाउने छौँ ।

News section here 

प्रतिक्रिया दिनुहोस !