
काठमाडौं । सोमबार अपराह्न यातायात व्यवस्था विभाग मीनभवनमा महानिर्देशक लावण्यकुमार ढकालसमक्ष नेपाल–भारत ट्रान्सपोर्टसँग सम्बन्धित पवनदूत कम्पनीको अनुमति लिन ५ जना पुगेका थिए । त्यहीबेला त्यहाँ पुगेका कञ्चनपुर–२ का सांसद नरबहादुर धामीलाई कार्यालय सहयोगीले रोकेर परिचय खोजेपछि ‘देखिनस् को हो ? म माननीय हुँ’ भन्दै लोगो देखाए । र, ढोकामा लात्तीले हानेर छिरे । बाहिरको हल्ला सुनेर ढकाल ‘को हो ? के हो ?’ भन्दै निस्किए ।
सांसद कार्यकक्षमा पसेर सोफामा बसेका मात्र थिए । उनले ‘मान्यज्यू, तपाईंले ठीक गर्नुभएन’ भने । उनले यति मात्र के भनेका थिए सांसद बसिरहेको ठाउँबाट जुरुक्क उठी नजिकै पुगी ‘तपाईंले मलाई सिकाउने ? म सांसद हुँ । (लोगो देखाउँदै) भन्दै कराउन थाले, सांसदले बिनारोकटोक भित्र पस्न पाउनुपर्ने उनको आशय थियो । सांसद कामको सिलसिलामा अघिल्लो बिहीबार पनि त्यहाँ गएका रहेछन् । उनले जनआस्थालाई सुनाएअनुसार सँगै पुगेको महाकाली ट्रान्सपोर्टको काम त्यही दिन भयो । तर, उनको फाइल मन्त्रालय, सचिवकोमा पठाएको भनियो ।
मन्त्रालय गएर बुझ्दा फाइल पठाइएको रहेनछ । सांसदको यो व्यवहारपछि महानिर्देशक सीधै मन्त्रालयतिर हान्निए । सबै घटना सिसि क्यामेरामा कैद भइरहेको थियो । यो कुराको हेक्का मान्यलाई भएन । डिजी मन्त्रालय पुगेर आफूमाथि माननीयबाट दुव्र्यवहार भएको सुनाए । मन्त्रीको पिएले माननीयज्यू बेला–बेला यहाँ पनि आएर पड्कनुहुन्छ भन्ने जवाफ फर्काए ।
सांसदले भने, ‘के म नकराएर उनीहरूलाई दोसल्ला ओढाउनु त ?’ उनले त्यति गरेलगत्तै फाइल सचिव मधुसूदन अधिकारीसमक्ष पुगेको छ । रामकुमारी झाँक्री अखिलको अध्यक्ष हुँदा उनी केन्द्रीय कोषाध्यक्ष थिए ।