भरतपुर । भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव, २०७५ बाट सो रकम सङ्कलन भएको हो ।
भरतपुर महानगरपालिका– ११ मा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानमा गणेशधाम निर्माणार्थ स्थानीयवासीको सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । महायज्ञमा उठेको रकमले मात्रै गणेशधाम निर्माण सम्भव नभएकाले निर्माणको चरणमा पनि आर्थिक सङ्कलन गरिने उहाँले बताउनुभयो ।
महानगरपालिका र प्रदेश सरकारले पनि गणेशधाम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार आयोजित समापन कार्यक्रममा महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशधाम निर्माणका लागि महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महायज्ञका प्रमुख वाचक पण्डित दिनबन्धु पोख्रेलले गणेशधामलाई केन्द्र बनाएर धार्मिक परिपथ बनाउनुपर्ने तथा देवघाट, मौलाकालिका, शाश्वत धाम र गणेशधाम लगायतका क्षेत्रले चितवन र नवलपुरलाई धार्मिक तथा आध्यात्मिक नगरीका रूपमा विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा गणेशधामको परिकल्पनाकार सांसद विजय सुवेदीलाई अभिनन्दन गरिएको थियो । धाम निर्माणका लागि प्रदेश नं ३ सरकारले समेत रु ८० लाख विनियोजन गरिसकेको छ ।
गणेश धामको विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको छ । प्रतिवेदन अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । चवालीस बिघामा गणेशधाम निर्माण गर्ने योजना छ । पच्चीस बिघामा तलाउ निर्माण गरिने छ । प्रतिवेदनअनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुनेछ ।
(रासस)