चितवन, १ पुस । प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलंकाका प्रेस काउन्सिलका अध्यक्ष सहितको ९ सदस्यीय टोली चितवन घुमेर फर्किएको छ ।
काठमाडौँ, पोखरा, पाल्पा, लुम्बिनी हुदै टोली चितवनमा आई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसगँ भेटवार्ता गरेको हो ।

टोलीले भरतपुर महानगरपालिकामा प्रेसको अवस्था, महिला अधिकार तथा महानगरले सुचनामैत्री महानगर बनाउन चालेका कार्यक्रमको बारेमा जानकारी लिएको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आइतबार आयोजित कार्यक्रममा श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागे र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङले चितवनमा प्रेसको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरका हरेक गतिविधिको बारेमा बेलाबेलामा पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने गरेको जानकारी दिईन्। भरतपुर महानगरले आफ्नो कामको पारदर्शिताको लागि नेपाल पत्रकार महासंघ चितवन शाखासँगको सहकार्यमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आइरहेको उनले बताईन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलाबहादुर भण्डारीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
म्यानमार र श्रीलंकाको प्रेस काउन्सिल टोली भरतपुरबाट काठमाडौं प्रस्थान गरेको छ । काठमाडौं फर्कने क्रममा टोलीले चितवनको कुरिनटारबाट मनकामना केबुलकार चढेर गोरखाको मनकामना मन्दिरको अवलोकन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !