काठमाडौं । काठमाडौंमा अपराध जगतको एउटा भयानक कथा छ– अपराधीले कसलाई मात्र आँखा लगाउन बाँकी राख्छन् ?
पत्रकार तथा नागरिक अगुवा कनकमणि दीक्षित हत्याको योजना सुनिरहँदा सामान्य होला भनिएको अलिक पुरानो एउटा घटनाले झस्काएको छ । गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरपछि अपराध महाशाखाका प्रमुख तथा हालका महानिरीक्षक सर्वेन्द्र खनाल जब त्यहाँबाट सरुवा र बढुवा भई ट्राफिक महाशाखामा हाजिर भए, तब उनको बसुन्धरास्थित घरमा दुईजना शंकास्पद मानिस छिरे । हुनेवाला आइजिपीको घरमा आपराधिक नियतका मानिसको बलजफ्ती प्रवेश चानचुने कुरा थिएन । प्रहरीको सेटमा हल्लिखल्ली मच्चियो ।
नगर प्रहरीमा थिए, डिएसपी रमेश थापा । उनको टोली तुरुन्तै त्यहाँ पुग्यो । नजिकैको दंगा नियन्त्रण गण, महाराजगञ्ज बृत्तसहितका प्रहरीले सुरक्षा दिए । यसपछि उक्त घर रिनोभेसनका लागि खालि गरियो, सर्वेन्द्र धुम्बाराहीमा डेरा लिएर बसे ।
यस्तो हर्कत मच्चाउने समूह र कनकमणिलाई टार्गेट गर्ने समूह एउटै भएको कुरा अहिले पुष्टि गर्न लागिँदैछ । दशैंअघिसम्म आपराधिक दुनियाँका चारवटा ग्याङ मिलेका थिए । त्यो हो, हाल केन्द्रीय कारागारमा रहेका बाहुन डन भनेर चिनिने रमेश पौडेल, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचन हत्याका मूल योजनाकार समीरमान बस्नेत, रुपन्देहीमा मारिएका अर्का नाइके मनोज पुन र केही प्रहरीले नै चलाएको अर्को ¥याकेट ।
प्रहरीले समीरमानलाई पक्राउ गरेपछि एउटा ‘स्लिपर सेल’ फेला पारेको छ । शरद् गौचन हत्याका अन्य आरोपीलाई प्रहरीले कात्तिक १२ गते झापाको काँकडभिट्टाबाट समात्यो, अम्बरबहादुर राना मगर, लोप्साङ लामा र रोशन बुढाथोकी । यिनीहरु पक्राउ परेपछि काठमाडौंमै रहेका अर्का व्यक्ति पहिचान भए, प्रहरीले तिनलाई पनि समात्यो । तर, कतै सार्वजनिक गरिएन । कारण थियो, समातिँदा समातिँदै उनले कनक हत्याको योजना बेलिविस्तार लगाए । थुन्दा वा विषयवस्तु सार्वजनिक गर्दा अरु ठूलो घटना होला भन्ने प्रहरीको बुझाई थियो । यसपछि उनी परिचालित भए ‘स्लिपर सेल’ का रुपमा । यिनको पर्सबाट एउटा कागजको टुक्रा फेला प¥यो । एक औँली लामो पनि थिएन त्यो टुक्रा । त्यसमा अंक लेखेको थियो, ९८५१२ सम्म । प्रहरीले सोधे, ‘अरु नम्बर कता छ ?’ उनैले देखाए पर्सको अर्को कुनामा दुईवटा अंक लेखेको । तर, त्यतिले पनि नम्बर पुगेन । फेरि अर्को छेउमा अर्को कागजको टुक्रा थियो, जसमा बाँकी तीन अंक थियो । कसको नम्बर हो भनी सोध्दा पहिला ‘दाइको’ भने । तर, यी तीन कागजमा उल्लेख भएका नम्बरहरु जोड्दा एकजना एसपी दर्जाका प्रहरीको नम्बरसँग मिल्न आउँथ्यो । प्रहरी कब्जामा पुगेका ‘स्लिपर सेल’ ले मोबाइल नबोक्ने । उनका केही नियमित आवत–जावत हुने र जरुरी फोन गर्न प्रयोग हुने ल्याण्डलाइन प्रहरीले पत्ता लगायो । उनले प्रयोग गर्ने ल्याण्ड लाइनबाट प्रहरीले ती हाकिमको नम्बरमा फोन गरे । फोन उठ्नासाथ उनले ‘हेलो’ भनेनन्, सीधै ‘कहाँ हराइस् ए तँ’ भने । यसपछि फोन गर्नेले फोन राखिदिए । अपराध महाशाखाले ती प्रहरी हाकिमको मोबाइल नम्बरको सिडिआर (कल डिटेल्स) निकाल्यो । ‘स्लिपर सेल’ सँग त्यो नम्बरबाट दिनमा ५० पटकसम्म कुराकानी भएको निस्कियो । त्यो नम्बरले जेलमा रहेका समीरसँग १५८ पटक, रमेश बाहुनसँग १६५ पटक सम्पर्क गरेको रेकर्ड प्रहरीले सुरक्षित राखेको छ । अनि, प्रहरीले सोध्यो, ‘लु भन्, तँलाई यसले के–के काममा लगायो ?’ यसपछि बयान दिँदै जाने क्रममा खुल्यो, सर्वेन्द्र महानिरीक्षक हुनुपूर्व नै उनलाई टार्गेट गरिएको । ती बाहेक ट्रमा सेन्टरमा कार्यरत चिकित्सक पनि टार्गेट गरिएका रहेछन्, त्यसरी नै । यी ‘स्लिपर सेल’ को काम हो, यो चारवटा आपराधिक समूहका लागि टार्गेट रेकी गर्ने । शरद् गौचनदेखि गणेश लामा, दावा लामा, काजी शेर्पासम्मको रेकीमा यिनी सक्रिय थिए ।
उनीबाटै फेला परेको हो, कनकमणिको घर, गाडी नम्बर । यी चार आपराधिक समूह मिल्यो, युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याकाण्डदेखि । ‘स्लिपर सेल’ को काम हो, सुटरलाई भारतबाट नेपाल बोलाउने । बस्ने होटल, खाने ठाउँ र घटनापछि भाग्ने ठाउँ बताइदिने । त्यसबापत समीरमानले भनेको मान्छेसँग भेटेर पैसा लिने र सुटरलाई दिने । यसअनुसार, कनक हत्याका सबै तयारी पूरा भइसकेको सुनाए । सुटरले काठमाडौं टेकिसकेको अनुमान थियो । यस्तो योजना खुलासा भएपछि गएको दशैँ र तिहारको बीचमा अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले महानिरीक्षक सर्वेन्द्रलाई फोन गरेर यस्तो सनसनीपूर्ण कुरा सुनाए । त्यसपछि सर्वेन्द्रले कनकमणिलाई तुरुन्त स्केप गरेर सुरक्षित राख्न आदेश दिए । धीरजले कनकलाई धेरै केही भनेनन्, ‘हजुर कतै काठमाडौं बाहिर जाने काम भए जाँदा राम्रो हुन्छ, सुरक्षा हामी दिन्छौँ ।’ कनक बंगलादेश जाने भएका थिए । धीरजप्रताप आफैँले एस्कर्ट गरेर एयरपोर्टसम्म पु¥याए, उनको जहाज उडेपछि फर्किए । उता, कारागारमा रहेका समीरमान रातारात त्यहाँबाट मुस्ताङतिर लगिए । धेरैले अनुमान गरे कि, उनलाई इन्काउण्टर गर्न प्रहरीले चलखेल गर्दैछ ।
त्यही आशंकाका साथ उनको परिवारका सदस्यले अदालतमा जेल सरुवाविरुद्ध मुद्दा पनि हाले । तर, कारण थियो, हाइप्रोफाइल मर्डरको सूचना । उनका लागि जेल बाहिर बसेर काम गर्नेहरुसँग उनको सम्पर्क बिच्छेद गर्न प्रहरीले त्यसो गरेको थियो । किनभने, ‘स्लिपर सेल’ ले प्रहरीलाई भनेको थियो कि, ‘मजस्ता अरु पनि एक–दुई जना मान्छे छन् ।’ ती ‘स्लिपर सेल’ मगर समुदायका हुन् । उनलाई भनेजति पैसा, गाडी र अपार्टमेन्टको प्रलोभनमा काम लगाइएको थियो । यिनले प्रहरीलाई सुनाएका छन् कि, ‘मलाई समीरको टार्गेटका मान्छेहरुको घर देखाएको नकुल बोगटीले हो ।’ नकुल बोगटी हनुमानढोको सिभिल टोलीमा लामो समय काम गरेका असई थिए ।
पछि नक्कली सर्टिफिकेट काण्ड लागेर जागिर छाडे । नकुललाई पनि केही कुरा थाहा भएर होइन, आफूभन्दा माथिका मान्छेले अह्राएर आफूले देखेको मान्छे र ठाउँ देखाइदिएका । यी ‘स्लिपर सेल’ ले रुपन्देहीमा दुर्गा तिवारी, बलु पौडेलको हत्या र मार्बल फ्याक्ट्रीमा फायरिङ खोलेर व्यापारी तर्साउने मिसन सिध्याई काठमाडौंमा काम गर्न थालेको थियो । त्यसैले उसलाई धेरै कुरा थाहा थिएन । कनकमणिको जस्तै टार्गेट मिस भएको थियो, ट्रमा सेन्टरमा कार्यरत डा.समाज गौतमको । यी ‘स्लिपर सेल’ ट्रमा सेन्टरसम्म पुगेको रहेछ । त्यसबेला डाक्टरहरुको हड्ताल थियो । समीरका मान्छेले डाक्टर चिनाए । उनी आमनेसामने पनि भए । चाहेको भए छातिमा ताकेरै हान्ने पोजिसनमा भेट भएको थियो । हतियारमा हात पनि हालेका रहेछन् । तर, एक मनले डाक्टर मार्ने कुरासँग त्यति चित्त बुझेन । उनलाई यसबारे के कारण थियो भन्ने पनि थाहा छैन । जनआस्थाबाट