सभामुख कृष्णबहादुर महराले प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गरी विस्थापितलाई उचित मानवीय सहायता प्रदान गर्ने नीति बनाइनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा इन्हुरेड इन्टरनेशनलले आज आयोजना गरेको ‘विपद् सिर्जित विस्थापनः राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उहाँले विपद्मा हुन सक्ने संकटपूर्ण मानवीय बसाइसराइँलाई मध्यनजर गरी आवश्यक क्षमतालाई वृद्धि गर्ने र प्रभावित समुदायलाई समेत समस्या सामना गर्न सशक्तिकरण गर्ने नवीनतम कार्यक्रमको आरम्भ हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा विपद्का कारण असुरक्षित एवं कतिपय अवस्थामा पीडितले गन्तव्यहीन यात्रा तय गर्नुप¥यो, त्यसको प्रमुख कारण पूर्वतयारीको अभाव तथा उपलब्ध स्रोत र साधनको समेत उचित परिचालन हुन नसक्नु नै थियो । यसका निम्ति संवैधानिक, कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक परिमार्जन गरिनुपर्दछ ।”
विपद् सिर्जित विस्थापनलाई व्यवहारिक रुपमा व्यवस्थित गर्न स्थानीयस्तरमै तत्काल राहत तथा उद्धार टोली गठन गरी उनीलाई सबै सीपले पूर्ण बनाउँदै लैजानु आवश्यक भएको उल्लेख गर्दै सभामुख महराले स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको परिचालनमार्फत स्थानीय निकायलाई प्रवलीकरण गर्दै लैजान सकिएको खण्डमा धेरै हदसम्म जोखिम न्यूनीकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सडक बाटो तथा हवाई सुविधासमेत हुन नसकेको स्थानमा स्थानीयस्तरमै भएका स्रोत र साधनलाई परिचालन गर्ने लक्ष्य लिई स्रोत र साधनको उचित परिचालन गर्न तयारी अवस्था राखी स्थानीय स्तरमै दक्ष जनशक्तिको उत्पादन गर्दै लैजानुपर्ने देखिन्छ ।”
विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणलाई योजनाबद्ध ढङ्गबाट सञ्चालन र सरोकारवालालाई सशक्तीकरण गर्दै लैजान सकिए अकस्मात हुने जनधनको क्षति कम तथा सम्भावित असुरक्षित बसाइसराइँको जोखिमलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । “विगतको अनुभवले के प्रमाणित गरेको छ भने आपतकालमा गरिने प्रभावकारी मानवीय कार्यमा संलग्न निकायको पूर्वतयारीको अवस्था र उनीहरुको क्षमता तथा सबै तहमा उपलब्ध स्रोत–साधनले विपद्मा हुने विस्थापन तथा व्यवस्थापनको पक्षमा दूरगामी प्रभाव पर्दछ”–सभामुख महराले भन्नुभयो ।
(रासस)
–––