काठमाडौं । हातभरि भारु भएर के गर्नु, चल्दैन † आफ्नै देशको पाँच हजारभन्दा बढी नगद बोकेर विदेश जानुस्, प्रहरीले एयरपोर्टमै समातेर थुृन्छ र पैसा पनि जफत गर्छ । सम्भवतः संसारमा यस्तो भुक्तमान नेपालबाहेक कहीँका नागरिकले खेप्नु परेको छैन ।
दिनदिनै जटिल बनिरहेको मामिला छ, भारुको । विदेशीको नोट हाम्रो देशमा चल्नका लागि सम्बन्धित देशले सबै विवरण खुलाएर सूचना पठाउनुपर्छ । सन् २००० सालभन्दा अगाडि भारतले निकाल्ने सबै नोट चल्छ भनेर जानकारी आउँथ्यो । त्यही व्यहोराका आधारमा नेपालको केन्द्रीय बैंकले सबै बाणिज्य बैंकहरुलाई सर्कुलर गर्ने हो । नेपालकै नोट बजारमा छर्दा पनि सूचना निकालिएको हुन्छ । केही वर्षअघि करोडौँ भारुसहित पाकिस्तानी दूतावासका प्रथम सचिवलगायत कूटनीतिज्ञहरु पक्राउ परे । त्यसपछि नेपालमा पाँच सय र हजार दरको भारुमा प्रतिबन्ध लाग्यो । भारतले ‘प्रतिबन्ध’ भनेका दिनदेखि नेपालीले त्यस्तो नोट चलाउन पाएनन् ।
२०१६ मा उताका प्रधानमन्त्री नरेन्द्र मोदीले चल्न पाउने गरी प्रतिबन्ध खोलिदिए । पाँच सय र हजारको नोट चल्ने, तर एकजनाले २५ हजारभन्दा बढी बोक्न नपाउने सूचना जारी भयो । लगत्तै सन् ०१७ मा भारतमै पनि नोटबन्दी भयो । उताका जनतासँग भएको पाँच सय र हजार दरका नोट सबै साटिए । तर, नेपालीसँग भएका नोट साटिएनन् । भूटानमा त्यसो गर्दा साटियो । अझै राष्ट्रबैंकसँग पाँच÷६ करोड त्यस्ता नोट कागजको खोस्टासरि थन्किएको छ । सर्वसाधारणसँग भएको नलिए पनि कम्तिमा बैंक र बित्तीय संस्थासँग भएको पैसा त लिइदिए हुने नि ! भारतीय पक्षबाट यो समस्याको सुनुवाई गरिएको छैन । बीचमा भारतमा दुई सय, पाँच सय, दुई हजारको नोट छापियो । यो नोटको स्थिति के हो ? फिचर के हो ? नेपालमा चल्ने, नचल्ने स्थिति के हो भन्नेबारे अझैसम्म केही जानकारी आएको छैन । त्यसो भएपछि प्रहरीले भारुसहित मानिसहरु पक्रिन थाल्यो । पक्रिएको नोट चल्छ कि चल्दैन भनेर प्रहरीले सोध्दा राष्ट्रबैंकले चल्दैन भन्नुपर्ने स्थिति छ । किनभने, त्यो नोट चलाऊ भनेर भारतले अहिलेसम्म भनेको छैन । यदि भारतले निकालेका नयाँ नोटहरु चलाऊ भनेछ भने पनि अब नेपालले सजिलै मान्ने अवस्था छैन ।
उता, हाम्रो मुद्रा भारतमा मात्र हैन, नेपालको ७ प्रदेश, ७७ जिल्लाबाहेक कहीँ पनि चल्दैन । बरु, कुनै पनि नेपालीले पाँच हजारभन्दा बढी नगद लिएर विदेश गयो भने समातिन्छ र बिगोको तीन गुणाभन्दा बढी जरिवाना पनि हुन्छ । चार वर्षअघि कतार जाने एकजना नेपालीको झोलामा तीन लाख रुपैयाँ भेट्दा प्रहरीले समात्यो । समातिएका नेपालीले आफ्नै घर बेचेर ल्याएको पैसा भने । तर, त्यसबापत दुई वर्ष जेल बसेपछि तीन लाख रुपैयाँ जफत भयो ।
एकातिर नेपालीले आफ्नो देशको पैसा आफ्नै भूमिमा बोक्दा हाम्रो अध्यागमनले रोक्छ भने अहिले भारतमा चलनचल्तीमा रहेको नोट चलाउँदा दुबै देशका जनतालाई सास्ती छ । भारतीय नागरिक (मानसरोबर) हिल्सा जाने भनेर गाडीभरि आउँछन् । सजिलोको लागि पाँच सय र दुई हजारको ठूलै नोट बोक्छन् । होटलमा भात खान्छन्, सुत्छन् । पैसा दुई हजारको दिन्छन् । भात खाइसकेका हुन्छन् । नचल्ने पैसा भए पनि व्यापारी पैसा लिन बाध्य हुन्छ । कि, ‘भैगो, त्यत्तिकै जाऊ भन्नुप¥यो †’ व्यापार गर्न बसेकोले त्यसो भन्न पनि मिलेन । अब त्यो पैसा प्रहरीले जफत गरिदियो भने उल्टै व्यापारी फस्छ । भारतको पैसा लिए पनि आखिर फस्ने निर्दोष नेपाली नै हुन् । यो समस्या फुकाउन राष्ट्रबैंक पहल गरिरहने, भारतीय रिजर्भ बैंकका अधिकारीले नसुनिदिने कारण समस्या विकराल बन्दैछ ।
उता, विवादास्पद व्यापारी अजेयराज सुमार्गीले पैसा विदेश लैजाने कुरा अगाडि बढिरहेको छ । तर, सांसदसमेत रहेका अर्बपति बिनोद चौधरीलेचाहिँ हुण्डीको अवैध जालो समाएर विदेशमा कारोबार चलाइरहेको राष्ट्रबैंकका अधिकारीहरु नै दावी गर्छन् । हुण्डी बित्तीय अभिलेख नहुने र पैसा जस्ताको तस्तै चाहेको ठाउँ पुग्ने अनौपचारिक सञ्जाल हो ।