काठमाडौं । नेपालको बहुचर्चित ३३ किलो सुन भारतीय शहर कोलकातामा मंसिर २१ गते फेला परे तापनि नेपाल आउने सम्भावना भने एक प्रतिशत पनि छैन । सुनसरी, इटहरी–५ निवासी हेमप्रसाद शर्मा र राकेशप्रसाद नाम गरेका नेपालीबाट बरामद भएको भनिएको उक्त सुनबारे भारतीय आसूचना निर्देशनालयले त्यहाँस्थित हाम्रो वाणिज्यदूतावासलाई जानकारी दिएको छ ।

तर, त्यो सूचना नेपाली नागरिक समातिएको कारणले मात्रै पठाइएको हुनुपर्ने काठमाडौंस्थित सरकारी अधिकारीहरुको अनुमान छ । त्यहाँ कुनै अवैध सामान बरामद भएमा सुराकीलाई २० प्रतिशत पुरस्कार दिने व्यवस्था छ । तर, भारु दश करोड पैंतालिस लाख अड्सठ्ठी हजार सात सय साठी बराबरको त्यो सुन नेपाल पठाइएमा सुराकी भत्ता पाइँदैन । हातमा परिसकेको माछो माया मारेर भारतीयले काम गर्लान् भन्नेमा सरकारी हाकिमहरुले विश्वास गर्न सकिरहेका छैनन् ।

त्यो सुन नेपाल आउन नेपाल र भारतका भन्सार प्रमुखहरुको संयन्त्रमार्फत जोडबलमा दिल्लीको उच्च नेतृत्वबाट मात्र सम्भव छ । सन् १९६२ को इण्डियन कष्टम एक्टमा फौजदारी मुद्दाको वारदात जहाँ भयो त्यहीँ मुद्दा चल्ने व्यवस्था छ । त्यसैले अवैध तवरले ओसारपसार भइरहँदा बरामद भएको उक्त सुनबारे भारतीय निकायले त्यहीँको अदालतमा मुद्दा लैजाने सम्भावना रहेको बताइन्छ । सन् २०१५ सम्म भारतमै बस्ने गरेका हेमप्रसाद नेपाली नागरिक भए तापनि उनले नक्कली भारतीय सवारी चालक अनुमतिपत्र हात पारेको त्यहींको राजश्व जासुसी विभागका अतिरिक्त महानिर्देशक दिपंकर आरोनको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !