हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका २ जना बालबालिकालाई जाडोमा लगाउने कपडा तथा स्टेशनरी सामाग्री प्रदान गर्नुभएको छ ।

उहाँले गत बैशाख ५ गते एकजना चेपाङ बालिका र एक जना तामाङ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुभएको थियो । पौडेलले मनहरी गाउँपालिका–६ सुनाचुरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा ६ वर्षीया चेपाङ बालिका जेसिका प्रजा र ६ वर्षीय तामाङ बालक सञ्जित ब्लोनलाई एक कक्षामा भर्ना गरिदिनुभएको थियो ।

भर्नाका क्रममा दुई बाल–बालिकाको अभिभावकको नाममा मुख्यमन्त्री डोरमणि पौडेलको नाम समेत उल्लेख गरिएको थियो । बिहिबार उहाँले स्विटर, ज्याकेट, कुर्था सुरुवाल तथा स्टेशनरी सामग्री प्रदान गर्नुभएको छ । सामग्री प्रदान गरेपश्चात उहाँले बालबालिकाको स्वास्थ्य अवस्था तथा पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो ।

विद्यालयभन्दा बाहिर रहेका २ बालबालिकालाई पढाएर  उनीहरुको अभिभावकत्व ग्रहण गर्न पाउँदा खुशी लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । शिक्षा बिना मुलुक समृद्ध नहुने भन्दै बालबालिकाको शिक्षा पहिलो आवश्यकता भएको बताउनुभयो ।

संघीय सरकारको अभियानलाई साथ र सहयोग गर्न तत्कालिन समयमा मुख्यमन्त्री पौडेलले विद्यालय जान उमेर पुगेका कोही पनि नछुटुन भन्ने अभियानको मूल उद्देश्यका साथ भर्ना अभियान सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !