काठमाडौं । गत वर्षको निर्वाचनबाट विपक्षी बेञ्चमा साँघुरिएको कांग्रेसलाई थप बलियो बनाउन देशैभरिका महासमिति सदस्य बैठकमा आए पनि त्यसले कांग्रेसमा अर्काे गुट जन्माइदिएको छ । अहिलेलाई त्यो गुट अदृश्य भए पनि सिंहदरबारको पश्चिम गेटैअगाडि एउटा पार्टी प्यालेसमा चलिरहेको बैठकका सहभागीले भने प्रत्यक्ष देख्न पाएछन् । गुट जन्मिएको सुइँको सहभागीले त्यतिबेला पाए जतिबेला उपसभापति विमलेन्द्र निधि हराएको भन्दै सभाहलमा हंगामा शुरु भयो । निधि बैठकको दोस्रो दिन अकस्मात् हराएका हुन् ।
मञ्चमा उपसभापति नभएको खासखुस त सहभागीले गरेकै थिए, पछि त्यो कुरा सभाहलमा ढिला प्रवेश गरेका सभापति शेरबहादुर देउवाको कानमा पनि पुग्यो । अनि उनले खोइ निधि भने, देब्रे दाहिने बसेका नेतालाई सोधे तर कसैले जवाफ दिन नसकेपछि गोजीबाट फोन झिके र हकारे । तैपनि, केही घण्टापछि मात्र उनी त्यहाँ उपस्थित भए र त्यस दिनका लागि आफूले केही नबोल्ने सन्देश उद्घोषकलाई दिए । देउवालाई उनले आफू विधान मस्यौदाको बैठकमा गएको बताए पनि त्यो काम देउवाले अरू नै नेतालाई लगाएका थिए ।
निधि हराउनुको कारण भने गच्छदार थिए । तर गच्छदारले उनलाई केही भनेका होइनन् । कुरो पहिल्यै दिनको थियो । त्यसदिन सभाहलमा विजय गच्छदारको प्रभाव देखेर उनी खुम्चिएको चर्चा छ । गच्छदारले भाषणमा बारम्बार गुटबन्दी अन्त्यको आग्रह गरिरहेका थिए र उनले गरेको भाषणलाई सहभागीले गड्गडाहट तालीका साथ स्वागत गरेका थिए । त्योभन्दा अघि उनले देउवा र पौडेललाई हात समातेर एकता प्रदर्शन गर्न लगाएका थिए । उनले भनेपछि दुई नेताले माने र हात समातेर माथि उठाइदिए पनि । गच्छदारले हात उठाएर एकता प्रदर्शन गर्न भनेपछि नेताहरूले माने भनेर मिडियामा प्रचार भयो । त्यो कुरा पनि निधिलाई मन परेको थिएन ।
अर्काे रोचक पक्ष के छ भने एकातिर गच्छदारको हाइहाइ भएका बेला यता निधिको राजनीतिक प्रस्तावको सो बैठकले कडा आलोचना गरेको थियो । कांग्रेस विचारविहीन पार्टी बनेको भनी बजारमा व्यापक हल्ला आएका बेला झारा टार्ने शैलीमा उनले यो प्रस्ताव पेश गरेका थिए । सभापति देउवाले राजनीतिक प्रस्ताव लेख्न निधिलाई नै भनेका हुन् । तर उनको प्रस्ताव झारा टार्ने खालको भन्दै हलबाट बारम्बार प्रश्न आएपछि देउवाले पनि त्यसमा टिप्पणी गर्नुप¥यो । यस कुराले उनलाई अप्ठेरो पर्नु स्वाभाविकै हो । अघिल्लो दिनको यो हर्कतपछि उनी भोलिपल्ट नआएको अनुमान केहीले गरे भने अधिकांशको लख मधेशमा गच्छदारको बर्चस्व बढ्दै गएकोमा थियो । यत्रो महासमिति बैठकमा निधिको उपस्थिति उपसभापतिको जस्तो नभएको धेरैको गुनासो थियो । त्यसमाथि देउवाले पनि उनलाई हप्काएका छन् ।
यी सबै पृष्ठभूमिको भित्री कुरा भने अर्कै छ । निधि गच्छदारलाई भिœयाएकोमा देउवासँग बेखुस छन् । गच्छदार आएपछि उनले सार्वजनिक रूपमै ‘देउवाले सौता हालेको’ टिप्पणी गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा राजेन्द्र महतोलाई उठ्न नदिने वातावरण मिलाइदिन दक्षिणलाई निकै गुहारे पनि अन्तिममा सम्भव भएको थिएन । महतो उठे, निधि हारे । हार्ने अवस्था देखेपछि उनले आफ्नो शक्ति गच्छदार हराउन लगाएको भित्री मधेशी स्रोत बताउँछ । आफू हारेर गच्छदार जित्ने हो भने पार्टीमा उनको बर्चस्व बढ्न जाने देखेर उनी हराउनतिर लागेका थिए तर सकेनन् । दक्षिणले त्यतिबेला नमानेको रिस उनले अहिले जनकपुरमा योगी आदित्यको आगमनको विरोध गरेर पोखेको हुनुपर्छ ।
त्यसयता कांग्रेस पार्टीका हरेक बैठकमा दक्षिणको धाक लगाउने, देउवाको दक्षिणतिर राम्रो छैन । बरु आफूले राम्रो बनाइदिने जस्ता रवाफ देखाउने गरेकामा अहिले त्यस्तो अवस्था छैन । यतिखेर गच्छदार देउवा नजिक छन् तर निधि छैनन् । आफू प्रधानमन्त्री हुँदा गृहमन्त्री निधिले अर्कै आइजी ल्याउन खोजेको र त्यो कुरा आफैले मिडियामा दिएको भनी देउवा पनि उनीप्रति सशंकित छन् । यी सबै कुरा अहिले आएर महासमिति बैठकमा देखिएको छ । यसरी गुटअन्त्यको अनुनय गरिरहेका कार्यकर्ताले फेरि तराईमा मात्र केन्द्रित भए पनि कांग्रेसमा अर्काे गुट जन्मिएको महसुस गरेका छन् । यसले सोझा सीधा कांग्रेसी जनको मन अमिलो भएको पाइन्छ ।