चितवन, १० पुस । आज देशभर क्रिश्चियन धर्मालम्बीहरुले धुमधामसंग क्रिसमस मनाईरहेका छन् । चार वर्ण छत्तीस जातमा पनि नेपालमा हरेक धर्मप्रति सामान व्यवहार गरिएको छ ।
नेपाल धर्म निरपेक्ष राष्ट्र पनि बनिसकेको छ । जहाँ स्वतन्त्ररुपमा मानिसहरुले कुनै पनि धर्म अपनाउँन सक्छन् तर पछिल्लो समय नेपालमा विभिन्न लोभ र लालच देखाउँदै धर्म परिवर्तन गराईरहेको घटनाले भने देशमा बिखण्डन ल्याउँने प्रयास भईरहेको टिप्पणी भईरहेको छ ।

यसैबीच चितवनमा पनि क्रिसमस धुमधामसंग मनाईरहेको छ । तर आजैकै दिन चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाईबल जलाएका हुन् ।

नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्ने नारा लगाउँदै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए ।

हिन्दू जागरण नेपालले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत माग राख्दै प्रदर्शन गरेका थिए । कुनै पनि धर्म परिवर्तन गर्न लोभलालच र दबाबमा पार्नु पक्कै पनि राम्रो होईन । यस बिरुद्ध आवाज उठाउँनै पर्छ तर बिरोधका लागि बाईबल नै जलाउँनुले भने राम्रो सन्देश पक्कै जाँदैन ।

प्रतिक्रिया दिनुहोस !