काठमाडौं । २०७२ वैशाखको भूकम्पले भत्किएको धराहरा पुनर्निर्माणको शिलान्यास बिहीबार गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बिहान ११ बजे धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने प्रधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए। विभिन्न कारणले पुनर्निर्माण हुन नसकेको धरहरा भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा धरहराको शिलान्यास गर्न लागिएको हो।

धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन्। पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ।

कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो। धराहरा २९ रोपनी क्षेत्रफलमा फैलिने र धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु हुनेछन्। नयाँ बन्ने धरहरा ११ तलाको बन्नेछ। धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस !